२०८२ आश्विन १६ | Oct 02, 2025

नेपाल टेलिकमको एफटीटीएच (फाइबर टुु द होम) नेटवर्कमा पूूर्ण रुपमा स्तरोन्नति

BusinessPati बिजनेस पाटी
|
२०८१ असार १६
|
204 views


काठमाडौं १६ असार, २०८१-नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, नक्सालमा कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आधुुनिक फाइबर प्रविधिको एफटीटीएच (फाइबर टुु द होम) नेटवर्कमा पूूर्ण रुपमा स्तरोन्नति गर्नुका साथै कपर नेटवर्क बन्द (सट डाउन) गरेको छ । यससँगै काठमाडौं उपत्यकाका अधिकांश स्थानको सेवा एफटीटीएचमा स्तरोन्नति भएको छ ।

असार १४ गत दूरसञ्चार कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले पुरानो कपर प्रविधिमार्फत सञ्चालित सेवा बन्द गर्नुभयो ।

सो अवसरमा प्रबन्ध निर्देशक पहाडीले नेपाल टेलिकमले समय अनुसार नयाँ प्रविधिलाई अवलम्बन गर्ने कार्यलाई निरन्तरता दिइरहेको बताउँदै नेपाल टेलिकमप्रति सेवाग्राहीहरुमा भएको सकारात्मक धारणालाई चीरस्थायी बनाउनका लागि कम्पनीले ग्राहकमैत्री सेवा प्रवाह गर्नु पर्ने र यसका लागि कम्पनीका कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।

कार्यक्रममा बागमती प्रादेशिक निर्देशनालयकी निर्देशक रिना डंगोल र प्रमुख सञ्चालन अधिकृतको कार्यालयका प्रबन्धक शालिग्राम पराजुली लगायत विभिन्न वक्ताहरुले कम्पनीले हाल विभिन्न स्थानमा स्तरोन्नति कार्य जारी राखेको बताउँदै ग्राहकलाई गुणस्तरीय सेवा दिने कार्यलाई सबैले आत्मसात गर्नु पर्ने बताउनु भयो ।

दूरसञ्चार कार्यालय, नक्सालका कार्यालय प्रमुख सन्तोष भण्डारीले नक्सालमा ५ हजार क्षमताको एक्सचेन्ज निर्माण भई २०४० पुस १४ गते उद्घाटन भएको जानकारी दिदै हाल क्षमताको ४२ प्रतिशत लाइन सञ्चालनमा रहेको बताउनु भयो ।

एफटीटीएच प्रविधि अन्तर्गतको एनटी फाइबरमार्फत सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन् ।

नेपाल टेलिकमले देशभर रहेका पुरानो कपर प्रविधिलाई विस्थापन गर्ने कार्यलाई जारी राखेको छ । यो कार्य नियमित रुपमा भइरहको छ र केही समय पछि देशभरका सम्पूर्ण नेटवर्क स्तरोन्नति हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया