परिवर्तन भयो नेपालीको खर्च गर्ने शैली

काठमाडौँ  ०३ फागुन २०८०।

आम्दानीको अधिकांश हिस्सा खाद्यान्नमा खर्च गर्ने नेपालीको शैलीमा परिवर्तन देखिएको छ । विगतमा आम्दानीको दुई तिहाइसम्म खाद्यान्न खरिदमा खर्च गर्ने प्रवृत्ति बिस्तारै लामो समय टिक्ने गैरखाद्य वस्तुको खरिदतर्फ मोडिएको पाइएको हो ।

हालै सार्वजनिक नेपाल जीवनस्तर सर्वेक्षणमा विगत एक दशकको अन्तरमा खर्च खाद्यान्न र गैरखाद्यान्नमा नेपालीले करिब आधा आधा खर्च गर्ने तथ्य सार्वजनिक भएको हो । सर्वेक्षण अनुसार सन् २०११ मा कुल खर्चको ६२ प्रतिशत खाद्यान्नमा खर्च गर्ने नेपालीले सन् २०२२ सम्म आइपुग्दा त्यस्तो खर्च घटाएर ५३ प्रतिशतमा सीमित गरेका छन् । गैरखाद्यान्नमा सन् २०११ मा ३८ प्रतिशत खर्च गर्ने नेपालीले सन् २०२२ सम्म बढाएर ४७ प्रतिशत पुर्‍याएका छन् ।

समीक्षा अवधिमा नेपालीले खाद्यान्नमा गर्ने खर्चको शैली पनि फेरिएको पाइएको छ । पछिल्लो समय नेपालीले खाद्यान्नमा पनि अधिक क्यालोरी भएका पौष्टिक खाद्यमा बढी खर्च गर्न थालेको देखिएको छ । उदाहरणका लागि कुल खाद्यान्नमध्ये सन् २०११ मा तीन प्रतिशत हिस्सा फलफूलको हुनेमा सन् २०२२ मा फलफूलको हिस्सा बढेर सात प्रतिशत पुगेको छ । त्यस्तै तरकारीको अंश १० प्रतिशतबाट बढेर १२ प्रतिशत पुगेको छ । नेपालीले मासुमा गर्ने खर्च पनि बढेको छ । खाद्यान्नको कुल खर्चमध्ये १४ प्रतिशत मासुमा हुने गरेको पाइन्छ, जुन २०११ मा १३ प्रतिशत थियो ।

खाद्यान्नमा गर्ने खर्चको शैली हेर्दा नेपालीले अनाजतर्फको खर्च घटाएर फलफूल, तरकारी र माछामासुतर्फ बढाएको सर्वेक्षणले देखाउँछ । सन् २०११ मा ३४ प्रतिशत खर्च अनाजमा गर्ने प्रवृत्ति बदलिएर १७ प्रतिशतमा पुगेको छ । यस हिसाबले अनाजमा गर्ने खर्च आधा घटाएको देखिन्छ ।

गैरखाद्यान्नतर्फ नेपालीको खर्च बढ्नुको मुख्य कारण भने भाडा, यातायातका साधन र सूचना प्रविधिको बढ्दो उपयोग देखिन्छ । त्यस्तै पछिल्लो समय नेपालीको ध्यान टिकाउ वस्तुको खरिदतर्फ गएको पनि सर्वेक्षणले देखाउँछ । नेपालीले आफ्नो कुल खर्चको पाँच प्रतिशत त्यस्ता टिकाउ वस्तुको खरिदका लागि गरेको तथ्याङ्कले देखाउँछ जुन सन् २०११ मा तीन प्रतिशत थियो । त्यस्तै भाडामा नेपालीले गर्ने खर्च कुल खर्चको नौ प्रतिशतबाट बढेर १२ प्रतिशत पुगेको छ । कम टिकाउका गैरखाद्यान्नमा हुने खर्च पनि समीक्षा अवधिमा बढेको देखिन्छ । सन् २०११ मा यस्ता वस्तुले नेपालीको कुल खर्चको २५ प्रतिशत हिस्सा ओगटेकोमा त्यस्तो हिस्सा बढेर ३१ प्रतिशत पुगेको देखिन्छ ।

गैरखाद्यतर्फ टिकाउ वस्तु खरिद गर्ने शैलीमा व्यापक परिवर्तन देखिएको छ । समीक्षा अवधिमा कार, कम्प्युटर, मोटरसाइकल, रेफ्रिजेरेटर, पङ्खा र मोबाइलको स्वामित्व बढेको देखिन्छ । सर्वेक्षण अनुसार सन् २०११ मा ०.८२ घरपरिवारसँग कारको स्वामित्व रहेकोमा सन् २०२२ मा त्यस्तो स्वामित्व बढेर १.८५ प्रतिशत पुगेको छ । त्यस्तै ८.७७ प्रतिशत नेपाली घरपरिवारसँग कम्प्युटरको स्वामित्व रहेको पाइएको छ जुन त्यसअघि ६.०३ प्रतिशत थियो । यसबिचमा मोटरसाइकल प्रयोग गर्नेको सङ्ख्या उल्लेख्य बढेको छ । अहिले करिब २५ प्रतिशत घरपरिवारसँग मोटरसाइकल रहेको छ जुन १२ वर्षअघि ९.१८ प्रतिशत घरपरिवारमा सीमित थियो । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया