२०८२ आश्विन १६ | Oct 02, 2025

पहिलो चरणको आईपीओ निष्काशन गर्दै झापा इनर्जी

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ७
|
153 views

ललितपुर । झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन तथा विक्री खुला गर्ने भएको छ। पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

आईपीओ निष्काशनको अनुमति पाएको झापा इनर्जी कम्पनीले जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

स्थानीय बासिन्दाहरुका लागि छुट्याइएको कुल शेयरमध्ये १ लाख ९० हजार ९५ कित्ता शेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरको क्षेत्रका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर सो क्षेत्र बाहेकका झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

यसैगरी सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ५७ लाख २ हजार ९०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५७ हजार २९ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्काशन बन्द छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गते हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा साउन १८ र ढिलोमा साउन २८ गते हुनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले हिमालय बैंकको दुधे, दमक तथा सुरुङ्गाका शाखा कार्यालय तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया