पार्टीभित्रको एकता र आत्मविश्वासको लागि विशेष अधिवेशन अनिवार्यः गगन थापा

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १६
|
2.7k views

ललितपुर - ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको एकता र आत्मविश्वासको लागि विशेष अधिवेशन अनिवार्य भएको बताएका छन् ।

थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । उनले पौष मसान्त भित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको बताएका छन् ।

उनले ४९औँ राष्ट्रिय एकता र मेलमिलाप दिवसको शुभकामना दिँदै आजभन्दा ४९ वर्ष अगाडि विषम परिस्थितिमा ‘राष्ट्रिय एकता र मेलमिलाप’ को आह्वान गरेर बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरू नेपाल फर्किएको दिनको स्मरण गराएका छन् ।

शुभकामनाम सन्देश मार्फत् थापाले भने, “राष्ट्रिय एकता र मेलमिलाप दिवसु को ऐतिहासिक अवसरमा आम जनताको परिवर्तनको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस् भन्दै, एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधको साथ अगाडि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु।”

नेपाली कांग्रेसले यही उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ। यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ। अनि एकता के बाट आउँछ ? निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन— भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उद्भव हुन्छ। त्यो भनेको आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै हो। पौष मसान्त भित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ।

राष्ट्र प्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी हो भन्दै थापाले सबैलाई यही जिम्मेवारी निर्वाह गर्दै पुस मसान्त भित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्न र सम्पूर्णलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान समेत गरेका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube