२०८२ आश्विन १६ | Oct 02, 2025

पालमुनि नवनियुक्त तीन मन्त्रीहरूले लिए सपथ

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ३०
|
1.4k views

ललितपुर । अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीहरूले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई सपथ गराएका हुन् ।

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीले शीतल निवास पनि बस्न नमिल्ने अवस्थामा पुगेको थियो । आज शितलनिवासको राष्ट्रपति कार्यालय बाहिर पाल टाँगेर तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
यसअघि गत शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथ भने राष्ट्रपति निवास भित्रै भएको थियो ।

नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ, घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्ने भनिएको छ ।

अर्थमन्त्रीको जिम्मेवारी पाएका खनाल नेपाल सरकारका पूर्वअर्थ सचिव हुन् भने घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन्। अर्याल अधिवक्ता हुन्।

अधिवक्ता अर्याल अख्तियार दुरुपयोग अनुसन्धान दुरुपयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिको अयोग्यतासम्बन्धी मुद्दामा पुनरावेदन हालेपछि उनी चर्चामा आएका थिए । नवनियुक्त मन्त्रीहरुले आजै सिंहदरबारमा पदबहाली गर्ने जनाइएको छ ।

सपथ ग्रहणका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायतको उपस्थित थियो ।

तर सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना दुवैजना जेन–जी आन्दोलनपछि दुई सार्वजनिक समारोहमा देखा परेनन् । दुई दिनअघिको प्रधानमन्त्रीको शपथग्रहण र सोमबारको मन्त्रीहरूको शपथमा उनीहरू दुवैजना अनुपस्थित रहे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया