
ललितपुर । पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ ।
आयोगले आज नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । भ्रष्टाचारविरूद्ध मुद्दा किनारा नलागेसम्म सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । नेपालसँग अख्तियारले केही दिनअघि बयान लिएको थियो ।
२०६६ सालमा माधव नेपाल प्रधानमन्त्री भएको बेला नेपाल नेतृत्वको सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर पतन्जलीलाई हदबन्दी छुटमा जग्गा खरिद गर्न स्वीकृति दिएको थियो । सोही जग्गा विक्री गर्न अनुमति दिने निर्णय पनि नेपाल नेतृत्वकै सरकारले गरेको थियो ।
तत्कालीन प्रधानमन्त्री नेपालले मन्त्रिपरिषद्मा ठाडो प्रस्तावमार्फत् कानुनी प्रक्रिया नपुगी पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टाको स्वीकृति दिलाएको अख्तियारको दाबी छ । अख्तियारले माधव नेपालसँग १८ करोड ५८ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ ।
यो मुद्धामा तत्कालीन कानूनमन्त्री प्रेमबहादुर सिंह, भूमिसुधारमन्त्री स्व.डम्बर श्रेष्ठ, तत्कालीन मुख्यसचिव स्व. माधवप्रसाद घिमिरे (पछि गृह/परराष्ट्रमन्त्री, तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई पनि प्रतिवादी बनाइएको छ । पूर्व प्रधानमन्त्री माथि भ्रष्टाचारको मुद्दा दायर भएको नेपालको इतिहासमा यो पहिलोपटक हो ।
नेपालमाथिको मुद्दालाई एकीकृत समाजवादीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अत्यन्त दुःखद भनेर प्रतिक्रिया दिएका छन् ।
उनले नेपालको इतिहासमै पहिलो पटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दायर भएको घटनालाई सामान्य रूपमा लिन नहुने बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया