प्रचण्डलाई गणतन्त्र नायक सम्मान

काठमाडौँ १९ मङ्सिर २०८१,।

नेकपा माओवादी केन्द्रका अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं जनयुद्धका सर्वोच्च कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको छ । बुधबार गणतन्त्र सेनानी कोषले उनलाई सो सम्मान गरेको हो ।
देशबाट सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दश वर्षे जनयुद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचन हुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई यहाँसम्म ल्याइपुर्‍याउन कुशल नेतृत्व गरेकोमा गणतन्त्र नायकको सम्मान प्रदान गरिएको कोषले जनाएको छ ।
कोषले यो वर्षदेखि गणतन्त्र स्थापनाका लागि योगदान गर्ने सेनानीहरूलाई गणतन्त्र सेनानी सम्मान प्रदान गर्न सुरु गरेको हो । कोषले जनमुक्ति सेनाका डेपुटी कमाण्डरहरु नन्दकिशोर पुन पासाङ, वर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर र चक्रपाणि खनाल बलदेवलाई गणतन्त्र सेनानी सम्मान प्रदान गरेको छ ।
कोषले बागमतीका १३ जिल्लाबाट एक–एक जना र संस्कृतिकर्मीलाई पनि सम्मान गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया