प्रचण्ड, नेपाल र ओली क्रमशः १३–१३ महिना प्रधानमन्त्री

काठमाडौँ ३० फागुन २०८०।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने भएका छन् । सत्ता साझेदार प्रमुख तीन दलका शीर्ष नेताका बीचमा मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमतिनुसार नेपाल पनि प्रधानमन्त्री हुने भएका हुन् ।प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालका बीचमा सातबुँदे सहमतिपत्र सार्वजनिक हुनुभन्दा अघि छलफल भएको थियो ।

सो छलफलमा प्रचण्ड, नेपाल र ओली क्रमशः प्रधानमन्त्री हुने अलिखित सहमति भएको छ । सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड १ वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेका छन् । बाँकी अवधिमा तीनै जना नेता प्रधानमन्त्री हुने स्रोतले दाबी गरेको छ ।

‘यसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका बीचमा भएको सहमतिनुसार नै अब एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका बीचमा सरकारको नेतृत्व गर्ने सहमति भएको हो,’ ती नेताले भने, ‘अबको ४ वर्षमा आमनिर्वाचन हुन्छ, यसअघिको कांग्रेससहितको पुरानो गठबन्धनमा भएको सहमतिजस्तै प्रचण्ड, नेपाल र ओलीले क्रमशः सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।’ यसअघि प्रचण्ड र ओलीका बीचमा केही लिखित सहमति भएको थिएन । अहिले पनि त्यस्तो लिखित नभई तीन नेताका बीचमा मौखिक सहमति भएको स्रोतको दाबी छ ।

तीन नेताहरू क्रमशः बराबर अवधि अर्थात् १३÷१३ महिना प्रधानमन्त्री हुनेछन् । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सार्वजनिक भएको सातबुँदे सहमतिका साथै अन्य आन्तरिक सहमतिसमेत शीर्ष नेताका बीचमा भएको हुनसक्ने बताए । प्रचण्ड, नेपाल र ओली क्रमशः प्रधानमन्त्री समान अवधिका लागि हुने र सरकारको नेतृत्व गर्ने लिखित नभइ मौखिक सहमति भएको दाबी गरिएको छ ।

नेपालले कांग्रेससहितको पुरानो गठबन्धनमा भएको सहमति उल्लेख गर्दै अबको दिनमा नयाँ गठबन्धनले कसरी अगाडि बढ्ने र पावर सेयरिङ हुने’boutमा जिज्ञासा राखेका थिए । सत्ता र शक्तिको बाँडफाँटमा नेपालको जिज्ञासानुसार प्रचण्ड र ओली पनि त्यस्तै सहमति गर्न सहमत भएका बताइएको छ । नेपाल नयाँ गठबन्धनमा नआउँदा गठबन्धन भत्किनसक्ने भएकाले पावर सेयरिङका विषयमा तीन नेताका बीचमा सहमति जुटेको हो । आजको राजधानी दैनिकमा यो समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया