प्रथम महिला लधुकथाकार मोतिलक्ष्मी उपासिका र साधक प्रा.डा.चुन्दा बज्राचार्य

–स्वयम्भू शाक्य
“जसरी पुरुषलाई शिक्षाको आवश्यकता पर्दछ त्यस्तैं महिलालाई पनि शिक्षाको आवश्यकता हुन्छ” यो कथन नेपालभाषा साहित्यका अग्रणी तथा यशस्वी व्यक्तित्व मोतिलक्ष्मी उपासिका (मोतिलक्ष्मी तुलाधार) को हो । उहाँको विचारमा “शिक्षा जीवनको आधार हो । महिलालाई राम्रो शिक्षा दिन सक्यो भने राम्रो परिवारको जन्म हुन्छ । पहिलादेखि नै पुरुषलाई जस्तै महिलालाई पनि शिक्षा दिएको भए अहिले महिला पनि पुरुष जस्तै हुने थियो” “महिलाले श्रीमानसंग पारपाचुके गरिसके पछि सुश्री लेख्ने अधिकार राख्दछ” भन्ने महान विचार बोकी नयाँ युगको खोजी गर्ने विम्वका प्रतीक मोतिलक्ष्मी उपासिकाले जति पनि कृतिहरु रचना गर्नु भएको थियो सबैमा आफनो नामको अगाडि सुश्री लेखी जनमानसमा चेतनाको बीऊ रोप्नु भएको देखिन्छ ।
भनिन्छ, सृजना र समीक्षाको आफ्नैं विशिष्टता छ । यस्तै विशिष्टताका साधक तथा सृजनाशील व्यक्तित्वका धनी प्रा.डा.चुन्दा वज्राचार्यले बौद्धधर्मका अनुयायी नेपालभाषा साहित्यका प्रथम महिला लधुकथाकार मोतिलक्ष्मी उपासिकालाई अत्यन्तै नजीकवाट नियाली “मोतिलक्ष्मी उपासिका जीवनी छपुलु” नामक पुस्तक मोतिलक्ष्मी अभिनन्दन समारोह समिति प्रतिभा साहित्यिक परिवारवाट वि.स.२०४५ सालमा नेपालभाषावाट प्रकाशित गरिएको थियो । भाषाप्रेमी तथा समाजसेवी मोतिलक्ष्मी उपासिकावाट अति नै प्रभावित भएर प्रस्तुत पुस्तक प्रकाशित गर्नुका साथै एउटा महिलाको नाताले महिला सशक्तिकरणका आवाजहरु जसरी साहित्यका माध्यमवाट मोतिलक्ष्मी उपासिकाले हिजो समाजमा उठाएका थिए त्यस्तैं आज इतिहासकार, संस्कृतविद् ,शिक्षाविद् , भाषाविद् एवं समालोचक बहुप्रतिभाशाली विदूषी प्रा.डा.चुन्दा बज्राचार्यले पनि विविध विधाहरु मार्फत समाजलाई जागृतका कार्यहरु गदै आउनु भएकी छिन्
नेपालभाषा साहित्यमा सबैभन्दा पहिला महिला प्रगतिशील कथाकारको रुपमा देखा परेकी विदुषि मोतिलक्ष्मी उपासिका हुन् । उहाँको जन्म ने.स.१०२९ दिलाथ्व १२ अर्थात वि.स. १९६६ जेष्ठ ३१ गते आइतवार ल्हासा साँहु पिता द्रव्यधर तुलाधार र माता ज्ञानलक्ष्मी तुलाधरका छ जना सन्तानहरु ( छोराहरु पन्नाधर र चित्तधर छोरीहरु मोतिलक्ष्मी, बेतिलक्ष्मी, न्हुछेलक्ष्मी र माणिलक्ष्मी) मध्ये तेश्रो सन्तानको रुपमा काठमाडौं स्थित न्यत, तुन्छेँ टोलमा भएको थियो । छोरी नभएको घरमा उहाँको जन्मले घरमै ठूलो उत्साह जगाएको थियो । बालककालमा आमा भन्दा बज्यैसग धेरै बस्ने भएकोले बज्यै जहाँ गप्यो मोतिलक्ष्मी पनि त्यही जानु पर्ने उहाँको स्वभाव थियो । घर परिवारले घरबाहिरसम्म पनि नपठाएकोले उहाँको टोल छिमेकीमा कुनै पनि साथी थिएनन् । आफ्नो दाजु चित्तघर हृदय बाहिर साथीहरुसंग खेल्न जाने भएकोले उहाँले दाजुसंग पनि त्यति खेल्न पाएका थिएनन् । बाल्यकालदेखि ज्ञानी, शील स्वभाव राम्री र अनुशासित भएकीले मोतीलक्ष्मी उपासिकालाई घर परिवारले कहिले पनि गालीसम्म गर्नु परेनन् ।

पिता द्रव्यधर तुलाधरको कूलमा नारीलाई पनि शिक्षा दिनु पर्छ भन्ने मूल भावना रहेकोले मोतिलक्ष्मी उपासिकालाई पनि पाँच वर्षको उमेरमा अर्थात ने.स.१०३४ श्रीपञ्चमीका दिनदेखि अक्षर पढाउने काम पितावाटैं शुरु गरेका थिए । आमा ज्ञानीलक्ष्मी तुलाधरले अक्षर नपढे पनि छोरा छोरीहरुले पढाउनु पर्छ भन्ने भावना भएकोले उहाँले चाणक्य, गुरु मण्डल पुजा आदि जस्ता स्त्रोन्त्र कष्ठ पारेका थिए । घरको बैठक कोठामा मोतिलक्ष्मी उपासिका पढिरहेको बेला कोही मान्छेँ आयो भने केही नवोली चुप लागेर बस्ने र गए पछि फेरि पढ्ने उहाँको बानी थियो ।
वि.स. १९८३ भाद्र २४ गते पिताले सारस्वत व्याकरण र संस्कृत परिचय पढ्न पण्डित राखेकोमा त्यसवेला पण्डितको मृत्यु भएको कारणले मोतिलक्ष्मी उपासिकाले संस्कृत परिचय मात्र पढ्न पाइयो । राणा शासक चन्द्र शम्सेरको शाासन कालमा भारतमा १८ जना महिलाहरुलाई नर्स पढाउन नेपाल सरकारको तर्फवाट नामावाली तयार गर्दा मोतिलक्ष्मी उपासिकाको पनि नाम रहेकोले घरमै बसी हिन्दी भाषा पढ्न थालियो । तर भारतमा नर्स पढ्न जाने बेलामा आमा विरामी भएकोले उनी नर्स पढ्न जान पाइएन् । तसर्थ दाजु चित्तघर हृदयले आफ्नो वहिनीलाई भारतमा म्याट्रिक जाँच (एस.एल.सी.) दिनको लागि सबै विषयहरुमा पढाउन थाले तर जाँच नजीक हुँदा राम्रोसगं पढ्न नसकेकोले उक्त जाँच पनि दिन पाइएन् । पछि मोतिलक्ष्मी उपासिकालाई संस्कृत विषय पढाउनका लागि वि.स.१९८३ श्रावण ३ गते पण्डित पूर्णप्रसाद ब्राम्हाणका पिताले संस्कृत पढाउन थाले । त्यसवेला बालबोध व्याकरण, संस्कृत सोपन, क्रृतुपाठ, रघुवंश र कुमार सम्भव पढ्न थालियो र पछि बुद्धधर्म अध्ययन गरी पाली भाषा र अग्रेजी भाषा समेत अध्ययन गर्नु भएको थियो ।
छोरी विवाह नगरुन्जेलसम्म छोरा नै हुन् । जब विवाह गरिन्छ तब मात्र छोरी हुन्छिन् भन्ने सकारात्मक सोचको जन्म भैसकेको उक्त परिवारमा दाजुको विवाह नगरे पनि बाहिनीको विवाह गरी तत्कालिन रुढीबाढी समाजलाई नयाँ युगको पाठ सिकाएको थिए । आफ्नो नाती मोतिलक्ष्मी उपासिकालाई विवाह गरे पछि मात्र आफू मर्ने बज्यै मनिथकुको इच्छा भएकोले सोही इच्छामुताविक राम्रो परिवारवाट विवाहको प्रस्ताव आएकोले दाजु चित्तघर हृदयको विवाह नगरी बाहिनी मोतिलक्ष्मी उपासिका आठ वर्षको उमेरमा काठमाडौं जनबहाल र बालकुमारी बीच चिभाननी बस्ने एधार वर्षका काजीमानसि तुलाधरसँग नेवारी परम्परा अनुसार विवाह गरिएको दुई वर्ष पछि बज्यै मािनथकुको मृत्यु भएको थियो ।
मोतिलक्ष्मीको विवाह भएको पाँच वर्षसम्म लोग्नेको घरमा बसे पनि लोग्नेको खुट्टा ढोग्ने बाहेक राम्रो बोल चालसम्म भएको थिएन् । पछि लोग्नेले बहुविवाह गर्दा समेत सौतासंग मिलेर लोग्नेको घरमा बस्ने इच्छा गरेता पनि घरपरिवारको चाहनाले आफ्नो दाइजो लिएर माइतीमा आएर बस्न थाले । तत्कालिन समयमा बहु विवाह गर्ने छुट भएतापनि मोतिलक्ष्मीको घरपरिवारले उक्त बहुविवाहलाई नरुचाहेकोले तेह« वर्षको उमेरमा मोतिलक्ष्मीको पारपाचुके गर्न पुगे । मोतिलक्ष्मीले लोग्नेसंग पारपाचुके गरे पश्चात आफ्नो दाजु चित्तघर हृदयसंगै बसेर अक्षर पढ्न शुरु गरे । मोतिलक्ष्मी बहिनी भएपनि दाजुले भाईटिका गर्ने गरेकोले चित्तघर हृदयले बाहिनी मोतिलक्ष्मीलाई दिदीकैं व्यवहार गर्ने गरिन्थ्थो । दिदी भन्नु पनि आमा जस्तो हो भनी साहित्य शिरोमणि तथा कविकेशरी चित्तघर हृदयको धारणा थियो । दाजुको पे्ररणाले मोतिलक्ष्मीले नेपालभाषा साहित्यमा विभिन्न कथा, कविता र निवन्धहरु लेखी दाजुलाई देखाउन थाले । यसरी नेपालभाषा साहित्यमा सर्वप्रथम मोतिलक्ष्मी उपासिकाको कलमको उदय भएको देखिन्छ ।
आमा ज्ञानलक्ष्मी तुलाधर वि.स.१९८६ बैशाख ४ गते परलोक भएको थियो । त्यसैको सम्झनामा वि.स.१९८९ मा प्र्रकाशित साहित्य शिरोमणि तथा कविकेशरी चित्तघर हृदय (वि.स.१९६२–२०३९) को पहिलो प्र्रकाशित कृति पद्य निकुञ्जमा रहेको “मां” कवितामा “मातृविहिन बालक हृदय” भनी लेखिएको कवितामा तत्कालिन राणा सरकारले उक्त वाक्यांशमा आपती जनाई विभिन्न अर्थ निकाली “मातृभाषा विहिन बालक” भनिएको भनी साहित्य शिरोमणि तथा कविकेशरी चित्तघर हृदयलाई वि.स.१९९७ सालको राजनैतिक काण्डमा छ वर्षको जेल सजाय दिई थुप्रै साहित्यिक कृर्तिहरु समेत जफत गरिएको थियो । जेल जीवनमा उहाँले चित्तघर उपासक हृदय भनी साहित्य सृजना गरेको देखिन्छ । अतः जेलमा लेखिएका केही रचनाहरु सुरक्षित होस् भन्ने अभिप्रायले आफूले लगाइरहेको लुगा घरमा धुन पढाउने भनी बहाना बनाई सुरुवालको इजारभित्र लुकाई पठाइएका रचनाहरु मोतिलक्ष्मी उपासिकाले थाहा नभई लुगा धोई उक्त लुगा फेरि जेलमा नै दिएकोले सो कुरा साहित्य शिरोमणि तथा कविकेशरी चित्तघर हृदयले थाहा पाए पछि आफूले लगाएको लुगा धुन घर नपठाएको हो । उनले “सुगत सौरभ” महाकाव्य लेखिएको थियो । उक्त महाकाव्य लेखिसकेपछि आफ्नो वहिनीलाई यो पाण्डुलिपी नहराइकन राख्नु म जेलवाट आए पछि दिनु भनेकोले दाजुको जेल जीवन पश्चात बहिनी मोतिलक्ष्मी उपासिकाले दिएका थिए । वि.स.२०३९ जेष्ठ २६ गते हृदयघातका कारणले दाजु साहित्य शिरोमणि तथा कविकेशरी चित्तघर हृदयको मृत्यु पश्चात मोतिलक्ष्मी एक्लो भइन् ।
पिता द्रव्यरत्न तुलाघर ल्हासा साँहु भएकोले मोतिलक्ष्मीले घरको काम केही गर्नु परेन । त्यसवेला महिलाहरुले बाहिर काम गर्नृु हुदैन भन्ने अवधारणा थियो तर मोतिलक्ष्मीको परिवारमा त्यस्तो कुसंस्कारको जन्म कहिल्यै भएन । त्यसैले मोतिलक्ष्मीले सवैभन्दा पहिला परोपकार संस्थाको स्वयम् सेविका भएर घर बाहिर काम गर्न थाले । जुनवेला परोपकार संस्था भर्खरै मात्र स्थापना भएको थियो । यसरी मोतिलक्ष्मीले घर बाहिर मानव सेवा गर्न थाले भने घरभित्र उनले स्वीट्र गलवन्दी आदि बनाई पसल पसलमा ३÷४ रुपैयामा विक्री गर्ने कामको पनि शुरुवात गरे । त्यहीवेला योगवीर सिह कंसाकारले कपडाको कारखानामा मोतिलक्ष्मीलाई पनि आफ्नो छोरीसगैं राखी काम गर्न लगाइयो । पछि त्यहि कारखाना हेर्ने मात्र होइन् कारखानामा काम गर्ने कामदारहरुलाई कपडा बुन्न सिकाउने र आफू पनि बनाउने काम गरियो । त्यसैवेला मोतिलक्ष्मीलाई नर्सको पढाई गर्न फेरी इच्छा जागियो र उनले काम गरेको कपडा कारखाना छाडे । तर आमा विरामी भएकोले उनको नर्स पढ्ने इच्छा छोड्नु प¥र्यो । आफ्नै आमाको बहिनी सिद्धिलक्ष्मीसँग मिलेर तुछेँ गल्लीको घरमा कपडा पसल राख्न थाले । सिद्धिलक्ष्मी लुगा सिउन पोख्त थिए । त्यसैले उनी कालिङ्गपोङ्गमा गई लुगा सिलाउने काम जानेका थिए । पछि क्यानभास भर्ने काम सिकेर क्यानभासको पनि काम गरेका थिए ।
मेतिलक्ष्मी उपासिका मानवीय सेवा गर्ने एक वौद्ध धर्मावलम्वी हुन् । उहाँ वौद्धधर्मवाट अति नै प्रभावित भएर बौद्ध ग्रन्थको अध्ययन र अनुसन्धान गर्दै पाली भाषा लगायत अग्रेजी भाषा समेत अध्ययन गर्नु भएको थियो । वि.स.२००६ मा सारिपुत्र मौड्गल्यायनहरुले भगवान गौतम बुद्धको पवित्र धातु कलकतामा जात्रा गरेको वेला मोतिलक्ष्मी पनि जात्रामा सहभागी भएका थिए । कलकतावाट मोतिलक्ष्मी काठमाडौमा फर्के लगतै दाजु साहित्य शिरोमणि तथा कविकेशरी चित्तघर हृदय “सुगत सौरभ” पुस्तक प्रेसमा छापी प्रकाशित गर्नको लागि कलकतामा जाने वेलामा आफ्नो भाउजुलाई पनि पठाएका थिए ।
दाजु साहित्य शिरोमणि तथा कविकेशरी चित्तघर हृदयले उपासक लेखिएकोले मोतिलक्ष्मी तुलाघरले पनि उपासिका लेख्न थालेको देखिन्छ । पछि थेरवाद धर्मलाई पालना गर्नुका साथै काठमाडौ स्थित श्रीधः विहारमा घर्म देशना श्रवण गर्न जाने र विपशना ध्यान समेत गर्नु हुन्थ्यो । मोतिलक्ष्मीको विचारानुसार बौद्धधर्म पालना गर्न भिक्षु नै हुनु पर्छ भन्ने होइन् । गृहस्थी भएर पनि बुद्धधर्मको अनुयायी बन्न सक्छ । यो मेरो धर्म हो भन्नु साम्प्रादायिक भावना हो । सबै धर्म बराबर छ । धर्मले दिने नैतिक आचारण बराबर छ । सबै धर्मले राम्रो मार्ग अपनाउने हो । राम्रो बाटोमा हिड्न राम्रो आचारण हुनु पर्छ । राम्रो आचारणमा हिड्न आफैले यो राम्रो नराम्रो छुटयाउन सक्नु पर्दछ भन्ने यहाँको धारणा थियो ।
“साहित्य रचना गर्नका लागि इच्छा शक्ति मात्र भएर पुग्दैन त्यसको लागि साहित्यका आँखा र हृदय पनि हुनु पर्छ ” भन्ने मूल आशयका साथ वि.स. १९९० सालमा नेपालमा महाभूकम्प आए पछि मात्र मोतिलक्ष्मी उपासिकाले सर्वप्रथम वि.स.१९९२ सालमा “शारदा” पत्रिकामा नेपाली भाषावाट “रोदन” कथा प्रकाशित गरी साहित्य क्षेत्रमा प्रवेश गरेको देखिन्छ । त्यसपछि “पुन विवाह” जस्ता कथा लेखी नेपाली भाषा साहित्यमा साहित्यिक यात्रा गरेको थिए । तत्कालिन समयमा “गोरखापत्र” वाहेक अन्य कुनै पत्रिकाको जन्म भएको थिएन् । पछि नेपाली भाषा साहित्य सम्वन्धी ज्यादै लोकप्रिय मासिक पत्रिका “शारदा” उदय भएपछि नेपालमा प्रजातन्त्रका लागि थुप्रै साहित्यकारहरुले पत्रिका मापर्mत जहानिया राणा शासनका विरोधमा आ–आफ्नो तर्फवाट टोल टोल वस्ती वस्तीवाट विगुल फुकेका थिए । यस्तो विगुल फुक्नेहरुमा नेपालभाषा साहित्यका महान हस्ती साहित्य शिरोमणि कविकेशरी चित्तघर हृदय र उहाँका बहिनी मोतिलक्ष्मी उपासिकाको पनि बिशेष अग्रणी स्थान रहेको देखिन्छ ।
मोतिलक्ष्मी उपासिकाले दश वटा कथा संग्रहहरु मध्ये आठ वटा नेपालभाषावाट र दुई वटा नेपाली भाषामा लेख्नु भएको थियो । “लँ” नेपाल भाषाको पहिलो कथा हो । जुन धर्मदूत पत्रिकामा वि.स.२००० सालमा प्रकाशित भएको थियो । त्यसपछि “ब्यकु”, “कुलिम”, “निनि”, “स्मृतिया मूर्ति”, “पौं”, “समाप्ती” र “छ्याक” प्रकाशित भएका छन् । अन्य फुटकर कथाहरु धर्मदूत, धर्मोदय पत्र–पत्रिकामा प्रकाशित भएका छन् । निवन्ध विधामा सबै भन्दा पहिला नेपाली भाषावाट “आँसु” निवन्धवाट श्री गणेश गरेको देखिन्छ भने “ जन्म” निवन्ध धर्मदूतमा प्रकाशित भए पछि निवन्ध्रकारका रूपमा उदय भएको देखिन्छ । “मोतिमाः निवन्ध संग्रह” ने.स. १०७८ मा प्रकाशित भएको देखिन्छ भने नेपालभाषाको सबैभन्दा पहिले प्रवन्धका रुपमा ने.स.१०८० मा “संध” नामक पुस्तकमा प्रकाशित भएको थियो । तसर्थ उहाँको प्रकाशित कृर्तिहरुमा “सधं”(प्रवन्ध), “चखुं चिया सर्वय्” (ने.स.१११३ कविता संग्रह), मोति बाखं पुच” (ने.स.१११४ कथा संग्रह), “उत्पल वर्णा”(ने.स.१११४ बुद्धकालीन श्राविकाको जिवनी), “धौ बजी” (ने.स.१११८ निबन्ध संग्रह) हुन् । “गारथ”, “जेल”, “अस्पताल” जस्ता अति दुर्लभ निवन्धहरु हराएर गए भने भाइटिकाको दिन आफ्नो दाजु चित्तघर हृदयलाई सम्झेर लेखेको “जिगु किजापुजा” नामक निवन्ध सबैभन्दा छोटो लेखिएको कृर्ति हो । त्यस्तै “झी” “यः दाइ आः जि छुयाये ?” “नेपाल” चित्तधर हदय स्मृति ग्रन्थ र स्मृति अंकमा प्रकाशित “जि बुत” भन्ने लेख आफ्नो दाजु चित्तघर हृदयको सम्झनामा लेखिएको लेख हो । त्यस्तै बौद्ध साहित्यमा आधारित “पतित माता” र “नेपाल” पनि हुन् ।
मोतिलक्ष्मी नेपालभाषा साहित्यका पहिलो कवियत्री हुन् । उहाँको लेख्नु भएको नेपालभाषाका कविता “चाँहा सल्हा” साहित्य क्षेत्रमा अति नै चर्चा परिचर्चा भएको कविता हुन् । चित्तघर हदयको स्मृतिमा “झी” पत्रिकामा प्रकाशित भएको “यः दाइ आः जि छु याये” गद्यात्मक कविता प्रकाशित भएको थियो ।वि.स.१९९२ मा नेपालभाषा साहित्यमा लघु कथा (कजयचत कतयचथ) लेखी नयाँ युगको शुरुवात गर्ने पहिलो व्यक्तित्व मोतिलक्ष्मी उपासिका हुन् । वि.स.२००९ सालमा नेपालभाषामा सबैभन्दा पहिला काठमाडौंको हलुमानढोकास्थित भएको वृहत्त नेपालभाषा साहित्य समेलनमा महिला लेखिएकाको रुपमा“पासा” निवन्धले अति नै लोक प्रियता हासिल गरेको थियो । वि.स.२०१२ सालमा नेपालभाषा विकास मण्डलको तर्फवाट क्षेत्रपाटीमा भएको महिला साहित्य सम्मेलन मोतिलक्ष्मी उपासिकाको अध्यक्षतामा सभा सम्पन्न भएको थियो । हुनत नेपालभाषा परिषदको जन्म हुनु भन्दा पहिले भारतको कलकत्तामा च्वसापासाको जन्म भैसकेको थियो । वि.स.२००७ साल पश्चात नेपालभाषाको संस्थाको रुपमा जन्म भएको पहिलो संस्था हो नेपालभाषा परिषद । यो परिषद चित्तघर हृदयले आफ्नै घरको दोश्रो तल्लामा स्थापना गरी पछि उक्त घरको दोश्रो तल्ला नेपालभाषा परिषदलाई नै दान दिनु भएको थियो । परिषदमा मोतिलक्ष्मी उपासिकाले कोषाध्यक्षको भूमिका निभाईएका थिएँ । दाजुको मृत्यु पश्चात आफू बसिरहेको उक्त घर समेत नेपालभाषा परिषदलाई नै दान दिइएकी थिइन् । मोतिलक्ष्मी उपासिकाले नेपालभाषा मिसा खलः स्थापना गरि संस्थापक अध्यक्ष समेत रहनु भएको देखिन्छ । वि.स.२०४८ सालमा नेपाल नारी साहित्य सेवा केन्द्रवाट अभिन्दन गरिएको थियो भने वि.स.२०४९ सालमा साहित्यिक पत्रकार संघले लोकप्रिया देवी पुरस्कार प्रदान गरिएको थियो । मोतिलक्ष्मी उपासिकाको जीवन कालमा आफ्ना आमा, बाबु, दाजु, बहिनी सबै परलोक भएकोले उनी एक्लो जीवन विताउन बाध्य हुनु भएको थियो । “जहाँ वर्तमान राम्रो हुन्छ त्यहाँ भविष्य पनि राम्रो हुनु पर्छ” भन्ने उहाँको धारणा थियो । नेपालमा जति पनि भाषाभाषीहरु छन् ती सबैलाई राज्यले समान रुपमा हेर्नु पर्दछ भनी आवाज बुलन्द गर्ने युगका नारी संवाहक प्रथम महिला कथाकार तथा कवियत्री मोतिलक्ष्मी उपासिकाको मृत्यु ८७ वर्षको उमेरमा वि.स.२०५३ सालमा भएको थियो ।
अन्तमा हामी यो भन्न सक्छौं कि नेपालभाषा साहित्यका विविध विद्यामा नारी चेतना जागृत गरी जन– जनमा मन छुने गरी कलम चलाएकी दूरदर्शी साहित्यकार मोतिलक्ष्मी उपासिकाले आफुनो सम्पूर्ण जीवन भाषा क्षेत्रमै अपित गरी नेपालभाषा साहित्य र विकास लागि ठुलो योगदान दिनु भएकोे छ । तसर्थ मोतिलक्ष्मी उपासिकाले नेपालभाषा साहित्यका विविध विद्यामा जन मानसमा गरिएका जीवनप्रति अगाध श्रद्धाले शीर झुकेकी इतिहासका एक विम्व तथा धरःपौका अभियन्ता एवं समालोचक प्रा.डा.चुन्दा वज्राचार्यले मोतिलक्ष्मी उपासिकाले समाजमा लगाएको गुणलाई आत्मसाथ गदै उहाँको कृर्ति र व्यक्तित्वका विषयमा प्रस्तुत पुस्तक प्रकाशित गरेको देखिन्छ । “समाजमा परिवर्तन गर्नु छ भने पहिला आफू परिवर्तन हुनु पर्छ” भनी विचार राख्ने जागृत चेतनाका धनी प्रा.डा.चुन्दा वज्राचार्यले नेपालभाषा साहित्यको अध्ययन र अनुसन्धान गर्ने जो केहीलाई पनि प्रस्तुत पुस्तकले केही हदसम्म सहयोग गर्नै छन् । आशा छ, हाम्रो समाजले व्यक्ति होइन व्यक्तित्वलाई समयमै चिन्न सकोस् । गुणमुखी तथा समाज जागरणका विम्वहरुलाई संधै पहिल्याउन सकोस् । यही कामना छ । अस्तु ।

प्रकासित मिति २०८१-१-३१

फेसबुकबाट तपाईको प्रतिक्रिया