२०८२ भाद्र ७ | Aug 23, 2025

प्रधानमन्त्री ओलीको जम्बो टोली मध्यरातमा तुर्कमेनिस्तान जाँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १८

ललितपुर। आइतबार मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रनिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तान जाँदैछन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली आज राति १२ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान जान लागेका हुन् ।

तुर्कमेनिस्तानको अवाजा शहरमा आयोजना हुन लागेको एलएलडिसी समूहको सम्मेलन यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) हुँदैछ ।

एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ वटा भूपरिवेष्ठित विकासशील देशहरूले भाग लिने सो सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव, भूपरिवेष्टित मुलुकहरूले भोग्नुपरेका समस्या र विश्व बजारबाट लिनसक्ने लाभलगायतका विषयमा छलफल हुनेछ । ती मुलुकहरुको अन्तरराष्ट्रिय व्यापार अन्य देशहरू हुँदै पारवहनमा निर्भर रहनुपरेको यथार्थलाई दृष्टिगत गरी अतिरिक्त सीमा पार गर्ने ठाउँहरू र प्रमुख बजारबाट लामो दूरी, बोझिलो पारवहन प्रक्रिया र अपर्याप्त पूर्वाधारसँगै यातायात र अन्य लेनदेनसहित कूल लागतमा उल्लेखनीय वृद्धि हुने भएकाले भूपरिवेष्ठित विकासशील देशहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन सम्मेलन केन्द्रित रहने परराष्ट्र मन्त्रालयले जनाएको छ

सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । उनले एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता पनि गर्नेछन् । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, एमाले सांसद सूर्य थापा, प्रधानमन्त्रीका प्रमुुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उच्चपदस्थ सरकारी अधिकारी, अफिसियल मिडियाकर्मी र सुरक्षाकर्मीसमेत छन् ।

प्रधानमन्त्रीसहितको नेपाली टोली साउन २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया