२०८२ भाद्र ६ | Aug 22, 2025

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ३०

ललितपुर । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन् । मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् ।
उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र मानव बेचबिखन अनुसन्धान ब्यूरो खटिने जनाइएको छ ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री, संघीय मामिलामन्त्री र भूमिमन्त्रीलाई तुरुन्तै कारबाही गर्न माग गरेको छ ।
सोमबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । सभामुख देवराज घिमिरेले समय दिएपछि पार्टीको तर्फबाट बोल्दै रास्वपाका सांसद अशोककुमार चौधरीले प्रश्न उठेका मन्त्रीहरूलाई कारबाही गरिनुपर्ने माग राखे ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित सुशासन आयोगको खोजी गरे ।
प्रतिनिधिसभाको बैठकमा उनले प्रधानमन्त्रीको सुशासन आयोग कहाँ छ भन्दै जनताले खोजि रहेको बताए । मन्त्रीहरू एकपछि अर्को लेनदेन कान्डमा मुछिएको भन्दै उनले नैतिकता भए त्यस्ता मन्त्रीको राजीनामा आउनुपर्ने वा बर्खास्त गरिनुपर्ने बताए । उनले प्रतिनिधिसभामा सभामुखको भूमिकालाई लिएर विपक्षी दलहरूले प्रश्न उठाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सभामुखले सदनको अवरोधलाई ख्याल नगरेर सदन चलाएको भनेर प्रश्न उठाएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया