प्रधानमन्त्री प्रचण्डलाई रवि : ‘निल्नु न ओकल्नु’

काठमाडौं , १३  जेठ,२०८१। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने ‘निल्नु न ओकल्नु’जस्तै भएको छ । पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेको सम्बन्ध बिगँ्रदै गएको स्रोतको भनाइ छ । एकातिर लामिछाने सरकारमा रहँदा प्रधानमन्त्री प्रचण्डले आफू अप्ठ्यारोमा परेको महसुस गरिरहेका छन् भने लामिछाने सरकारबाट बाहिरिँदा सरकार अल्पमतमा पर्ने भय उनमा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका गृहमन्त्री लामिछानेकै कारण सरकार अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग जुध्नु परेको छ । चौथोपटक संसद्बाट विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डको पक्षमा १ सय ५७ मत परेको थियो । रास्वपासँग संसद्मा २१ सिट रहेको छ । रास्वपा सरकारबाट बाहिरिँदा १ सय ३६ मत मात्रै हुन्छ । अर्थात् सरकार अल्पमतमा पर्छ । तर, सो दिन नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका एक–एक गरी दुई सांसद अनुपस्थित रहेकाले प्रधानमन्त्री प्रचण्डसँग १ सय ३८ मत पुग्छ । तर, सत्तारूढ दलभित्रै देखिएका विभिन्न असन्तुष्टिका कारण प्रधानमन्त्री प्रचण्ड ढुक्क भने हुन सकेका छैनन् ।

त्यसैले, प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेलाई बोक्नैपर्ने अवस्था छ । तर, लामिछानेलाई बोक्दा संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको सरकारको नीति तथा कार्यक्रम माथि छलफल हुन सकेको छैन । यही १५ जेठमा सरकारले ल्याउने बजेट पनि अध्यादेशबाट ल्याउनुपर्ने अवस्था बन्दै गएको छ ।आजको राजधानी दैनिकमा यो समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया