२०८२ भाद्र ९ | Aug 25, 2025

बङ्गलादेशद्वारा पाकिस्तानलाई सन् १९७१ को नरसंहारबारे माफी माग्न आग्रह

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ९

बङ्गलादेशले पाकिस्तानलाई सन् १९७१ को नरसंहारका लागि आधिकारिक माफी माग्न आग्रह गरेको छ ।

बङ्गलादेशका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद हुसेनले आइतबार ढाकामा भएको द्विपक्षीय बैठकमा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारसँग यो विषय उठाएका थिए ।

“सन् १९७१ मा पाकिस्तानले गरेको नरसंहारबारे औपचारिक र आधिकारिक माफी माग्नु, सम्पत्तिको विभाजन, सन् १९७० को चक्रवात पीडितका लागि विदेशी सहायता हस्तान्तरण, फसेका पाकिस्तानीहरूको स्वदेश फिर्ती जस्ता लामो समयदेखि बाँकी रहेका ऐतिहासिक विषयहरूलाई समाधान गर्नु बङ्गलादेश–पाकिस्तान सम्बन्धलाई स्थायी र अग्रगामी बनाउन आवश्यक ठोस आधार हो”, बैठकपछि जारी विज्ञप्तिमा बङ्गलादेशको विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दार आफ्ना बङ्गलादेशी समकक्षीको निमन्त्रणामा अगस्ट २३ देखि २४ सम्म बङ्गलादेशको दुई दिने आधिकारिक भ्रमणमा हुनुहुन्थ्यो । भ्रमणका क्रममा दिउँसो उहाँले बङ्गलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुससँग भेट गर्नुभएको थियो ।

सो अवसरमा बङ्गलादेश र पाकिस्तानबीच एउटा द्विपक्षीय सम्झौता तथा पाँचवटा समझदारीपत्र ९एमओयु० मा हस्ताक्षर गरिएको छ । आइतबार दिउँसो ढाकामा भएको हस्ताक्षर समारोहमा बङ्गलादेशका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद हुसेन र पाकिस्तानका विदेशमन्त्री इशाक दार उपस्थित हुनुहुन्थ्यो ।

सम्झौतामा दुवै देशका सरकारी र कूटनीतिक पासपोर्ट वाहकका लागि भिसा छुटको व्यवस्था गरिएको छ । साथै, दुवै देशबीच व्यापारसम्बन्धी संयुक्त कार्य समूहको गठन, सांस्कृतिक आदानप्रदान, विदेश सेवा एकेडेमीबीच सहकार्य, राज्य सञ्चालित समाचार एजेन्सीहरूबीच सहकार्य, बङ्गलादेश इन्स्टिच्युट अफ इन्टरनेसनल एन्ड स्ट्रेटेजिक स्टडिज र पाकिस्तान इन्स्टिच्युट अफ स्ट्रेटेजिक स्टडिज इस्लामाबाद बीच सहकार्य गर्ने विषयमा पनि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

यसअघि, पाकिस्तानका वाणिज्यमन्त्री जाम कमल खान र बङ्गलादेशका वाणिज्य सल्लाहकार एस.के. बशीर उद्दीनबीच बिहीबार ढाकामा आर्थिक सहयोग, आपसी लगानी प्रवद्र्धन तथा द्विपक्षीय व्यापार सम्बन्ध सुदृढीकरणबारे गहन छलफल भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement