२०८२ फाल्गुन ६ | Feb 18, 2026

‘बतासे’ गीत ‘पहिलो हाँसो पहिलो बोल’ कस्को  ?

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २६
|
13.5k views

लोकराज अधिकारी 

ललितपुर । नेपाली गीत सङ्गीत बजारमा अहिले ‘पहिलो हाँसो पहिलो बोल’ गीतको चर्चा अत्यधिक छ । यो गीत अत्यधिक भाइरल मात्र हैन विवादित अनि बेवारिसे पनि छ  । ‘बतासे’ गीत ठानेरै होला यही मेसोमा चल्तीका सङ्गीतकर्मी , कलाकर्मीहरूले मौकाको फाइदा उठाउँदै आ आफ्नो च्यानलमा यो गीतमाथि भिडियो बनाउने गाउने गरेर हालेका छन् । 

यो गीत आफ्नो भएको दाबी गर्ने सिन्धुपाल्चोकका आदित्य श्रेष्ठले यो गीत आयन श्रेष्ठ एण्ड आदित्य श्रेष्ठ नामक युट्युब च्यानलमा  ४ नोभेम्बरमा  आधिकारिक भनेर अपलोड गरेको  देखिन्छ जसमा यो समाचार तयार पार्दा सम्म १३ लाख भन्दा बढीको भ्यूज आएको छ ।  यसको विवरणमा गायक आदित्य श्रेष्ठ ,शब्द च्याट जिपिटी, सङ्गीत विश्वास नेपाल र निर्देशक  शान थापा उल्लेख छ । 

ओएस नेपालले कार्तिक १९ गते प्रकाशन गरेको यो गीत सँग सम्बन्धित समाचारमा बहुप्रतिक्षित नेपाली प्रेम गीत ’पहिलो हाँसो पहिलो बोल’ हालै सार्वजनिक भएको छ। यस गीतको आधिकारिक म्युजिक भिडियोमा लोकप्रिय अभिनेता पल शाह र मिस पविको दमदार जोडीलाई देख्न सकिन्छ ।  भनिएको छ तर भिडियोमा कलाकारको अभिनय अहिले देखिँदैन ।  म्युजिक नेपाल ३७६ नामक टिक टक आइडीमा राखिएको एक क्लिपमा पल शाह र पविको अभिनय देख्न सकिन्छ तर त्यो फुटेज यो गीतको नभएर शान थापा निर्देशित थाहै भएन बोलको गीतको टुक्रा हो । 

यता यो गीत रिलिज हुन पूर्व नै अक्टुवर १५ मा भवानिशा नामक युट्युब च्यानलमा ’अधुरो भयो माया ’ बोल राखेर यस्तै गीत कम्पोज हुबहु सार्वजनिक भएको देखिन्छ । जसको विवरणमा स्वर सुनो भर्सन ४ दशमलव ५(एआई) शब्द च्याट जिपिटी र भवानिशाको उल्लेख छ । 

नोभेम्बर ६ मा आफूलाई गायक तथा यो गीतको सर्जक बताउने आदित्य श्रेष्ठले आदित्य श्रेष्ठ नामक च्यानलमा एउटा भिडियो पोष्ट गर्दै यो गीतको सर्जक आफू भएको दाबी सहित गीत बारे स्पष्टीकरण दिँदै आफ्नो सृजना र आफू माथि अन्याय भएको गुनासो गरेका छन् । आएन श्रेष्ठ र आदित्य श्रेष्ठ नामक दुवै च्यानलमा हेर्दा यस अघिका भिडियोहरू कभर संङगका रूपमा वा डिजे रिमेकका रूपमा, र एआई निर्मित गीतहरू भेटिन्छन् । यस्तै आदित्य श्रेष्ठले केही युट्युब च्यानलमा यो गीतको सर्जक शब्द स्वर आफ्नै भएको दाबी सहित अन्तर्वार्ता दिएका छन् । 

ती अन्तर्वार्तामा उनले  गीत गाउँदा ’पहिलो हाँसो पहिलो बोलाई सब याद छ’ भनेर गाएका छन् । तर भाइरल भएको गीतमा ’पहिलो हाँसो पहिलो बोल याद छ’ भनेको छ ।  गीतको बोल हुन्छ , हाँसो सँग बोली । एआईले मान्छेले जस्तो बुझेन अनि गाउँदा बोली लाई नबुझेर बोल ठानेर गाइदिएको हैन भनेर भन्ने ठाउँ छैन । 

यो गीत बतासे भैदिदा यसका अनेक भर्सन युट्युबमा छ्याप छ्याप्ती छन् । केही उदाहरणहरूमा यस गीतका सङ्गीतकारका रूपमा दुवै विवरणमा उल्लेख गरिएका विश्वास नेपालले गीतकारका रूपमा आदित्य श्रेष्ठलाई  प्रस्तुत गर्दै आफ्नै स्वरमा अनि  सङ्गीत ,सङ्गीत संयोजन र मिक्सिङ मास्टरिङ गरेर स्वयंले आफ्नो च्यानलमा राखेका छन् । यस्तै  आकाश नेपालीको सङ्गीत संयोजनमा सिम्रन परियारले आफ्नो च्यानलमा यो गीतको रि कृयटेड भर्सनका रूपमा गाएर अप्लोड गरेकी छन् । नेपालले बोली भनेर गाएका छन् । परियारले बोल नै गायकी छन् । मोडल जीवी चिरनले इनिस्पायरर्ड भर्सन भनेर यो गीतमा आफू अभिनीत भिडियो अप्लोड गरेका छन् ।  उनले आफूले फ्रेस भिडियो बनाएको जानकारी दिएका छन । यो गीत अडियो प्लेटफर्ममा अप्लोड गरेको आधारमा “अपरिचित” नाममा प्रतिलिपी अधिकार निहित रहेको देखाउछ भने अपरिचितको थम्बेलमा ए आई सिङ्गापुर लेखेर अप्लोड गरेको पाइएको छ ।

‘बतासे ’ यो गीतले सङ्गीत क्षेत्रमा प्रतिलिपि अधिकारबारे नयाँ बहसको सुरुवात गरेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया