बन्दीपुरमा बास बस्ने पर्यटकको कमी
तनहुँ ०९ पुस २०८१,।
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा बास बस्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । बन्दीपुर चिसो मौसममा पर्यटकीय गन्तव्यका रूपमा मानिन्छ । यो मौसममा यहाँ आउने आन्तरिक पर्यटक बढेपनि बास बस्नेको सङ्ख्यामा कमी आएको हो ।
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले बास बस्ने गरी आउने पर्यटक कम भएपनि घुमघाम गरेर सोही दिन फर्किनेको सङ्ख्या भने उल्लेख्य रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “बास बस्ने गरी आउने पर्यटक ‘प्याकेज’मा आउँछन् । घुमघामका लागि आउनेहरू दिनभर घुमेर साँझ फर्किने गरेका छन् ।” यतिबेला बन्दीपुरमा दैनिक पाँच सयभन्दा बढी पर्यटकको आगमन भइरहेको उहाँको अनुमान छ । सार्वजनिक बिदा र शनिबारका दिनमा भने पर्यटकको सङ्ख्या अझै बढी हुने उहाँले बताउनुभयो ।
बन्दीपुरमा विदेशी पर्यटकको आगमन पनि उल्लेख्य भइरहेको समितिका अध्यक्ष प्रधानले बताउनुभयो । उहाँका अनुसार अन्य मुलुकभन्दा चीनका पर्यटक बढी आउने गरेका छन् ।
Advertisement
साथै जापान, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक पनि आउने गरेका तथ्याङ्क समितिमा रहेको उहाँले जानकारी दिनुभयो ।
‘बन्दीपुर भ्रमण वर्ष २०२५’ का संयोजक वैश गुरुङले गाउँपालिकाको पहलमा यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन एक वर्षभरि विविध कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बन्दीपुर भ्रमण वर्ष घोषणा गरी यहाँ धेरैभन्दा धेरै पर्यटक भित्र्याउने अभियानमा लागेका छौँ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा यहाँ विशेष कार्यक्रम हुँदैछ । त्यसको तयारीमा जुटेका छौँ ।”
बन्दीपुर भ्रमण वर्ष–२०२५ को अवसरमा यहाँ पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत देशका मुख्य सहरमा पुगेर बन्दीपुरको प्रचारप्रसार गर्ने लक्ष्य लिइएको संयोजक गुरुङले बताउनुभयो ।
भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरू यहाँ आउने पर्यटकहरूको आकर्षण केन्द्रबिन्दु बन्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।
सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किमीको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा र मनोरम प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ ।
प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमश्रृङ्खला देखिने भएकाले यहाँ पर्यटकको आकर्षण बढेको संयोजक गुरुङले बताउनुभयो । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया