२०८२ फाल्गुन ६ | Feb 18, 2026

बरहथवामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ७
|
306 views

ललितपुर । सर्लाहीको बरहथवा नगरपालिका–४ स्थित खैरवा टोलमा आज बिहान बाटो विस्तारका क्रममा दुई पक्षबीच झडप हुँदा प्रहरीसहित १० जना घाइते भएका छन् ।

सडक विस्तारका विषयमा विवाद भएपछि ढुङ्गा हानाहान भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नाका साथै एक ‘राउन्ड’ गोली चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनामा प्रहरी निरीक्षक दिवाकर गणेशको दाहिने हातमा चोट लागेको छ भने प्रहरी जवान प्रमेश्वर राय यादवको टाउकामा चोट लागेको छ । दुवै जनाको बरहथवा नगर अस्पतालमा उपचार भइरहेको छ । यसैगरी, बरहथवा नगरपालिका–४ खैरवाका ५० वर्षीय टीकाबहादुर कार्की, ५२ वर्षीय कुलबहादुर कार्की, ३५ वर्षीय सञ्जय कुशवाह, ४२ वर्षीय रमेश महतो, ३८ वर्षीय इन्दु देवी, २६ वर्षीय प्रदीप कुशवाह, २८ वर्षीय अनिल कुशवाह र ३५ वर्षीय उमेश महतो घाइते हुनुभएको छ ।

घाइतेमध्येका टीकाबहादुर कार्की र कुलबहादुर कार्कीलाई बरहथवामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ ‘रेफर’ गरिएको छ । अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । झडपमा संलग्न भएको अभियोगमा सातजनालाई नियन्त्रणमा लिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया