बाबुरामको नियति नै विभाजन !

काठमाण्डौ ४ चैत्र २०८०

डा. बाबुराम भट्टराई नेतृत्वमा पछिल्लोपटक गठन भएको नेपाल समाजवादी पार्टी (नेसपा) पनि विभाजित बनेको छ। महिन्द्र यादव पक्षले अध्यक्ष भट्टराईलाई नै ‘बाइपास’ गरी नेसपालाई नेकपा माओवादी केन्द्रसँग एकता प्रक्रियामा लैजाने निर्णय गरेको छ।

नेसपा यादव पक्ष र माओवादी केन्द्रले शनिबार दुई पार्टीबीच एकताका लागि लिखित सहमति गरेका छन्। यो सहमतिसँगै अब आधिकारिक नेसपा कसको भन्ने विवाद सुरु भएको छ।

यादव पक्षले आधिकारिक नेसपा आफू नेतृत्वको भएको र माओवादीसँग एकताको निर्णय बहुमतबाट भएको दाबी गरेको छ। भट्टराई पक्षले भने शनिबारको सहमतिलाई पार्टी एकताको नभई केही व्यक्ति माओवादी केन्द्रमा प्रवेश भनेको छ।

भट्टराईको राजनीतिक जीवन सन् १९७७ मा प्रवास (भारत) बाट सुरु भएको हो। सन् १९७७ मा उनी अखिल भारत विद्यार्थी संघको संस्थापक अध्यक्ष भएका थिए। त्यसयता आबद्धता र स्थापना गरी उनका १२ वटा पार्टी भइसकेका छन्। सन् १९८१ मा उनले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए।

पार्टीमा उनको पहिलो आधिकारिक संलग्नता त्यही थियो। त्यसयता पार्टी फेर्ने र नयाँ गठन गर्ने क्रम हालसम्म जारी छ। नेकपा माओवादीको स्थापनाकालदेखि २०७२ सालसम्म उनी त्यसैमा रहे। भट्टराई संयुक्त राष्ट्रिय जनआन्दोलनको केन्द्रीय प्रवक्ता भए।

नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (मशाल), सर्वहारावादी श्रमिक संगठनको नेतृत्वमा पनि उनी रहे। यसैगरी उनको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र), संयुक्त जनमोर्चा, नयाँ शक्ति पार्टी, समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा) मा पनि रह्यो।

संविधानसभाबाट २०७२ असोजमा संविधान जारी भएसँगै माओवादीबाट अलग्गिएका भट्टराईले २०७३ जेठमा नयाँ शक्ति नेपाल घोषणा गरेका थिए। २०७६ वैशाख २३ गते संघीय समाजवादी फोरमसँग पार्टी एकता गर्दै उनले समाजवादी पार्टी नेपाल गठन गरे।

२०७७ वैशाख १० गते समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भई जसपा गठन भयो। उक्त दल २०७८ असार २२ गते फेरि विभाजित भयो।

महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेका थिए। लोसपा गठनपछि भट्टराई जसपा संघीय परिषद् अध्यक्षको जिम्मेवारीमा थिए। जसपामा उपेन्द्र यादव यादव र भट्टराईबीच विवाद उत्कर्षमा पुगेको बेला भट्टराईले फेरि नयाँ पार्टी गठन गरे।

जसपामा विवाद चर्किएपछि भट्टराई पक्षीय नेताहरूले २०७८ माघ १० गते समावेशी लोकतान्त्रिक पार्टी गठन गरेका थिए। २०७८ फागुन १० गते उक्त पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो। २०७९ असारमा उक्त पार्टीको नाम परिवर्तन नेसपा बनाइएको हो। आजको नागरिक दैनिकमा यो समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया