बिपी राजमार्ग भोलिदेखि सञ्चालनमा ल्याउने तयारी, १७ ठाउँमा डाइभर्सन बने अब २ ठाउँमा बनाउन बाँकी

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २४
|
1k views

ललितपुर - ललितपुर । गत साता अर्थात् यही असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्ग भोलिदेखि सञ्चालनमा आउने तयारी भइरहेको छ । रोशीले बगाएका १९ स्थानमध्ये १७ स्थानमा डाइभर्सन बनिसकेको छ भने अब २ स्थानमा मात्र डाइभर्सन बनाउन बाँकी छ । हाल राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भइरहेको छ ।

शुक्रबार बिहानसम्मा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ‘ट्रयाक’ खोली सकिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इान्जिनियर सुमान योगेशले जानकारी दिए। उनका अनुसार शुक्रबार दिउँसोसम्म क्षतिग्रस्त राजमार्गको सम्पूर्ण खण्डमा ट्र्याक खोल्ने योजना छ । 

इन्जिनियर योगेशका अनुसार ट्र्याक खोलिसकेपछि पुनः एकपटक सडकको अवस्था हेरेर केही गाडीद्वारा परीक्षण गर्नेछौँ, शनिबार बिहानदेखि पूर्णरुपमा राजमार्ग सञ्चालनमा ल्याइनेछ । 

गत साताको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो । पानी पर्न छोडेपछि मङ्गलबारदेखि औपचारिक रुपमा डाइभर्सन निर्माण थालिएको हो । 

उनका अनुसार सबै ट्र्याक खोलिसकेपछि बनेको सडकका घुम्ती र साँघुरा स्थानमा थप मर्मत गर्नुपर्ने देखिन्छ । शुक्रबार साँझसम्ममा सडक खोल्ने काम पूरा गर्ने गरी रोशी गाउँपालिकाको माम्ती क्षेत्रमा डाइभर्सन निर्माण भइरहेको छ । 

बाढीपहिरोले राजमार्गको १७ स्थानमा क्षति पु¥याएको थियो । सोही क्षेत्रमा गत वर्षको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रुपमा सडक सञ्चालन हुँदै आएको थियो ।

बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले क्षतिग्रस्त उक्त राजमार्गको विभिन्न खण्डको अवलोकन गरी छिटोभन्दा छिटो राजमार्ग सञ्चालन गर्नेगरी बनाइरहेको ‘डाइभर्सन’ निर्माण कार्यलाई तीव्र बनाउन सडक विभागका अधिकारीलाई निर्देशन दिनुभएको थियो । घिसिङले रातको समयमा काम गरेर भए पनि आज बेलुकासम्ममा यातायात सञ्चालन हुनेगरी कामलाई तीव्रता दिन भनेका थिए । 

कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् । 
 पात्रो/राशिफल  रेडियो YouTube