ललितपुर - ललितपुर । बंगालको खाडीमा सक्रिय चक्रवात ‘मोन्था’ का कारण नेपालमा विहीबारदेखि पुनः पानी पर्ने सम्भावना देखिएको छ । बंगालको खाडीमा विकसित भएको यो प्रणाली विस्तारै पूर्वी नेपालमा प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।
सोमबार रातिदेखि भइरहेको वर्षा र हिमपात बुधबारदेखि रोकिने र विहीबार साँझदेखि पुनःबंगालको खाडीको चक्रवातको प्रभावले पुनः सक्रिय हुने मौसमविद्ले जनाएका छन् ।
यो प्रणालीले गत असोजमा बाढीपहिरोले बढी क्षति पु¥याएको विभिन्न स्थानहरु उच्च जोखिममा रहेको मौसमविद्को भनाइ छ ।
चक्रवात ‘मोन्था’ का कारण नेपालको मुगु, डोल्पा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, म्याग्दी, रुकुम पूर्व लगायतका जिल्लाका उच्च क्षेत्रमा भारी हिमपात भएको छ । मंगलबार काठमाडौं उपत्यका लगायत मुलुकका अधिकांश भुभागमा वर्षा भइरहेको छ ।
यस्तै, ‘मोन्था नामक चक्रवात आँधि १३ गते (बिहीबार) साँझ सोझै पर्सा, बारा, रौतहट, सर्लाहीको बाटो हुँदै नेपाल प्रवेश गर्ने देखिन्छ जसले तराईका यी जिल्लाहरु सहित बाग्मतीमा पनि धेरै वर्षा गराउने छ मौसमविद्हले बताएका छन् ।
वर्षा र हिमपातको असर नेपालका पूर्वी जिल्लाहरुमा बढी र पश्चिममा कम पर्ने देखिन्छ । बिहीबार साँझदेखि शुक्रबार मध्याह्नसम्म इलाम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, खोटाङ र झापा जिल्ला उच्च जोखिममा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी विहीबारदेखि रोल्वालिङ, सगरमाथा, मकालु–बरुण क्षेत्रमा पनि पदयात्रा स्थगित गर्न मौसमविदले सुझाव दिएका छन् । मौसमविदका अनुसार काठमाडौं उपत्यकाको उच्च भेगमा भने हिउँ पर्ने सम्भावना छैन ।

बिजनेस पाटी