बुढानीलकण्ठ साहित्यिक, सांस्कृतिक महोत्सव सम्पन्न

काठमाडौँ – १४ फागुन २०८०।

‘बुढानीलकण्ठ साहित्यिक, सांस्कृतिक महोत्सव’ सम्पन्न भएको छ । बुढानीलकण्ठ नगरपालिकाद्धारा आयोजित दुई दिने महोत्सवको पहिलो बुनपा १३ स्थित चुनीखेलमा आयोजना गरिएको महोत्सवको अन्तिम दिन आज भने बुनपा ३ स्थित विश्व प्रसिद्ध तीर्थस्थल बुढानीलकण्ठ मन्दिर परिसरमा महोत्सवको समापन गरिएको थियो ।

महोत्सवमा नगरपालिकाभित्र रहेका सांस्कृतिक बाजा, राष्ट्रिय कलाकारहरु, कवि, संस्कृतिविद्, विभिन्न विद्यालयका विद्यार्थीहरु, विभिन्न नगरपालिकाका प्रमुखहरुकाबीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रंगमञ्च लगायत सम्पूर्ण विधा तथा क्षेत्रहरुलाई समेट्दै छलफल, बहस तथा अन्तरक्रियाको कार्यक्रमको आयोजना गरेको थियो।

पहिलो दिन शुक्रबार बुनपा १३ स्थित चुनीखेलको उदघाटन सत्रमा ७० जना जनप्रतिनिधिहरुले सांस्कृतिक रुपान्तरणका लागि विभिन्न स्थानीय पोशाक एवं भेषभुषामा सजिएर कार्यक्रमको उदघाटन गरेका थिए । प्रसिद्ध कलाकार हरिवंश आचार्य झमक घिमिरे, बृद्धि तामाङ्ग लगायतका कलाकारहरु वक्ताको रुपमा रहनुभएको थियो ।

त्यस्तै स्वास्थ्य क्षेत्रको अवस्था, चुनौति, आवश्यकता र असल प्रयत्नहरुको सन्दर्भमा भएको वहसमा डा. भगवान् कोइराला, प्रा.डा. मधु दीक्षित र डा. शंकरमान राई सहभागि हुनुभएको थियो । त्यस्तै देश कसरी बन्छ ? भन्ने सेसनमा बुढानिलकण्ठ नगरपालिकाका व्यवासायीहरु सुरज वैध्य, लाक्पाफुटी शेर्पा र जिवन धिमिरे लगायतका वक्ताले आफना भनाइ राख्नुभएको थियो ।

शुक्रबारकै सेसनमा नगरपालिकाका वडा अध्यक्षहरुले नगरपालिकालाई आहा बनाउन के के काम भईरहेको छ ? भन्ने बिषयमा आफना भिजन प्रस्तुत गर्नुभएको थियो । जुन सेसनमा वडा अध्यक्षहरु रवि खड्का, सुमित्रा पाण्डे त्रिपाठी, टीका नारायण श्रेष्ठले आहा नगरपालिका बनाउन चाहिने आधारभूत आवश्यकताका बिषयमा छलफल गर्नुभएको थियो । त्यस्तै सपनाको सहर अन्र्तगत नगरपालिकामा परिश्रम गरेर आफुलाई चिनाएका सडक व्यवसायी सीता नेपाली, कृषि उद्यमी सानु श्रेष्ठ, माइक्रो चालक सरला लुईटेललाई सम्मान पनि गरिएको थियो । त्यस्तै महोत्सवको पहिलो दिन विभिन्न १५ कविहरुले आफना कविताहरु प्रस्तुत गरेका थिए ।

महोत्सवको अन्तिम दिन अर्थात आज पनि बिभिन्न सेसनमा कार्यक्रम राखिएको थियो । जस अन्र्तगत निकै नै चर्चा र चासोका रुपमा लिईएको बुनपाको छिमेकी नगरपालिकाका मेयरहरुसँग चौतारी शिर्षक अन्र्तगत छिमेकी नगरपालिकामा हुने सहकार्यका बारेमा छलफल भएको थियो । जुन सेसनमा छिमेकी नगरपालिकाका मेयरहरु बुढानीलकण्ठ नगरपालिका नगर प्रमुख मिठाराम अधिकारी, टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारी र गोकर्णेश्वर नगरपालिका नगरप्रमुख दिपक कुमार रिसाल विच नगरपालिकामा भएका प्रगतिका बारेमा चर्चा भएको थियो । त्यस्तै सेवारो शिर्षक अन्र्तगत युवा नेता डा. राजन भटटराई र प्रतिनिधिसभाका सदस्य प्रदिप पौडेलले राजनीतिक अवस्थाका बारेमा बोल्नुभएको थियो ।

त्यस्तै अहिलेको पुस्ताले के चाहन्छ ? भन्ने बिषयमा कुराकानी गर्न टिन एज टक कार्यक्रम अन्र्तगत विद्यार्थीका अनुभवहरु पनि कार्यक्रममा राखिएको थियो । सेसनहरुमा म्ह फूला ? (सन्चै छ ), देश कसरी बन्छ ? विद्यार्थीहरुका कविता, चुनिख्या, सपनाको सहर, आहा बुढानीलकण्ठ, १५ कविहरु, भुईँजसी, चौतारी, टिन एज टक, बस्तीको माया बस्तीको स्वाद, सेवारो, नागसाला, कठघरामा, महफिल लगायतका १५ वटा सेसनमा छलफल भएको थियो । महोत्सवमा नगरपालिकामा भएका खैजडी भजनदेखि, डम्फु, टुमुना, बासुरी लगायतका परम्परागत रुपमा सांस्कृतिक झल्काउने गरि प्रचार प्रसार गरिएको थियो । काठमाडौं उपत्यकामै पहिलो पटक ‘बुढानीलकण्ठ साहित्यिक, सांस्कृतिक महोत्सव’ सम्पन्न भएको हो । सुचनाप्रेसबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया