बुढानीलकण्ठ साहित्यिक, सांस्कृतिक महोत्सव हुने

काठमाडौं ०९ फागुन २०८०।

काठमाडौं उपत्यकामै पहिलो पटक ‘बुढानीलकण्ठ साहित्यिक, सांस्कृतिक महोत्सव’ हुने भएको छ । बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा ‘बुढानीलकण्ठ साहित्यिक, सांस्कृतिक महोत्सव २०८०’ को आयोजना हुने भएको हो । नगरपालिकाले आज आयोजित पत्रकार सम्मेलनमा महोत्सवको तयारीका बारेमा जानकारी गराएको छ । फाल्गुन ११ र १२ गते हुने महोत्सवमा नगरपालिकाले विभिन्न १५ वटा सेसनमा वक्ताहरुको प्रस्तुती रहने जनाएको छ ।

महोत्सवको पहिलो दिन शुक्रबार बुनपा १३ स्थित चुनीखेलमा आयोजना हुँदैछ भने दोस्रो दिन बुनपा ३ स्थित विश्व प्रसिद्ध तीर्थस्थल बुढानीलकण्ठ मन्दिर परिसरमा महोत्सवको आयोजना गरिएको बुढानीलकण्ठ सांस्कृतिक साहित्यिक महोत्सवका संयोजक एवं उपमेयर अनिता लामाले बताउनुभयो ।

महोत्सवले एउटा माहोल सृजना गरेको बताउदै संयोजक लामाले नगरपालिकाभित्र रहेका सांस्कृतिक बाजा, महोत्सवको प्रस्तावित ढाँचा अनुरुप राष्ट्रिय कलाकारहरु, कवि, संस्कृतिविद्, विभिन्न विद्यालयका विद्यार्थीहरु, विभिन्न नगरपालिकाका प्रमुखहरुका बीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रंगमञ्च लगायत सम्पूर्ण विधा तथा क्षेत्रहरुलाई समेट्दै छलफल, बहस तथा अन्तरक्रियाको कार्यक्रमहरु महोत्सवमा रहेको बताउनुभयो । महोत्सवमा सेवारो शिर्षक अन्र्तगत युवा नेता डा. राजन भटटराई र प्रदिप पौडेलले राजनीतिक अवस्थाका बारेमा बोल्नुहुनेछ ।

बिद्यार्थीको कविता, नयाँ पुस्ताले के चाहन्छ ? मातृभाषाको जगेर्ना, नगरपालिका भित्र रहेका स्थानीय १५ जना साहित्यिमा कलम चलाउने कविहरुको सेसन रहेको पनि उहाँले बताउनुभयो । साथै नगपालिकामा रहेका ठुला व्यवासायीहरु सुरज वैध्य, लाक्पाफुटी शेर्पा र जिवन धिमिरे वक्ताको रुपमा हुनुहुन्छ । उहाँहरुसँग उद्यमीको सम्भावना, भविष्य र उहाँहरुको कारणले नगरपालिकाको महत्व कहाँ पुगेको छ ? देश कसरी बन्छ ? त्यसका बारेमा चर्चा गर्ने तयारी पनि नगरपालिकाको रहेको छ । नगरपालिका भित्र रहेका युवा वेरोजगारका लागि सकारात्मक उर्जा भर्ने उदेश्यले नगरपालिकामा नै माइक्रो चलाउने, सडक व्यवसायी र कृषक गरि ३ जना छोरीहरुलाई सम्मान गर्ने पनि तयारी रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

महोत्सवमा छिमेकी ३ वटा नगरपालिकाका प्रमुखहरुसँग सहकार्यका लागि छलफल हुने बताईएको छ । छिमेकी नगरपालिकाका मेयरहरु बुढानीलकण्ठ नगरपालिका नगर प्रमुख मिठाराम अधिकारी, टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारी र गोकर्णेश्वर नगरपालिका नगरप्रमुख दिपक कुमार रिसाल विच चौतारी शिर्षकमा विशेष कुराकानी हुनेछ । साथै उदघाटन सत्रमा ७० जना जनप्रतिनिधिहरुले सांस्कृतिक रुपान्तरणका लागि विभिन्न पोशाक एवं भेषभुषामा सजिएर कार्यक्रमको उदघाटन गर्ने तयारी छ ।

कार्यक्रममा झमक घिमिरे, हरिबंश आचार्य,बृद्धि तामाङ्ग लगायतका कलाकारहरु वक्ताको रुपमा रहनुभएको छ भने, नगरपालिकाको स्वास्थ्य क्षेत्रको अवस्था, चुनौति, आवश्यकता र असल प्रयत्नहरुको सन्दर्भमा हुने वहसमा डा. भगवान् कोइराला, प्रा.डा. मधु दीक्षित र डा. शंकरमान राई सहभागि हुनुहुनेछ । विभिन्न सेसनमा नगरपालिकाका वडा अध्यक्षहरुले नगरपालिकालाई आहा बनाउन के के काम भईरहेको छ ? भन्ने बिषयमा भिजन प्रस्तुत हुने बताईएको छ । जुन सेसनमा वडा अध्यक्षहरु रवि खड्का, सुमित्रा पाण्डे त्रिपाठी, टीका नारायण श्रेष्ठले आफना भनाइ राख्नुहुनेछ ।

महोत्सवमा नगरपालिकामा भएका खैजडी भजनदेखि, डम्फु, टुमुना, बासुरी लगायतका परम्परागत रुपमा सांस्कृतिक झल्काउने गरि प्रचार प्रसार गरिने बताईएको छ । महोत्सवमा सहभागि हुन चाहनेहरुका लागि भृकुटीमण्डपमा वसको पनि व्यवस्था गरिने जानकारी दिइएको छ । महोत्सवको उपलब्धी के रहयो भन्ने बिषयमा महोत्सव सकिएपछि पत्रकार सम्मेलन गरेर जानकारी गराउने नगरपालिकाका मेयर मिठाराम अधिकारीले बताउनुभयो । बुनपा साहित्यको क्षेत्रमा लाग्नेहरुको घर पनि भएकाले संस्कृति कसरी जोगाउने भन्ने बिषयमा सबै लाग्नुपर्ने उहाँको जोड थियो । महोत्सव सफल बनाउन सवै आएर सहभागि हुन उहाँको आग्रह थियो ।

महोत्सवको पहिलो दिन बुनपा १३ नम्बर वडामा भएकाले त्यसको भव्य रुपमा सम्पन्न गर्नका लागि वडा १३ ले सबै तयारी गरेको अध्यक्ष टीका नारायण श्रेष्ठले बताउनुभयो । महोत्सवको भव्य तयारीलाई चुनीखेलको प्रचारको रुपमा लिएको छौ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

सेसनहरुमा म्ह फूला ? (सन्चै छ ?), देश कसरी बन्छ ? विद्यार्थीहरुका कविता, चुनिख्या, सपनाको सहर, आहा बुढानीलकण्ठ, १५ कविहरु, भुईँजसी, चौतारी, टिन एज टक, बस्तीको माया बस्तीको स्वाद, सेवारो, नागसाला, कठघरामा, महफिल लगायतका १५ वटा सेसन रहेका छन् । पत्रकार सम्मेलनमा वडाध्यक्षहरु रवि खड्का, वसनारायण महर्जन, सुमित्रा त्रिपाठी पाण्डे, टीका नारायण श्रेष्ठ, नवराज भटटराई, सुमन तामाङ्ग, राजेन्द्र श्रेष्ठ, शम्भु भटटराई लगायत अन्य वडाका वडाअध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया