
ललितपुर । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भएका दुई किशोरी भक्तपुरको थिमी नगरपालिका–८ बोडेस्थित सिन्टीटारमा मृत भेटिएका छन् । उनीहरु तीन साताअघि भारतबाट भागेर भक्तपुरमा आएको खुलेको छ । बिहीबार दुबैजनालाई प्रहरीले मृत फेला पारेको छ ।
भारतीय सञ्चार माध्यम ‘सिगास टेलिभिजन’सँग कुरा गर्दै मृतककी आमा उमा कँडेलले भनेकी छन्, ‘कम्प्युटर कक्षा लिन जान्छौँ भनेर उनीहरू डेराबाट निस्केका थिए ।’
पछि दिदी बहिनीले बाबुआमालाई म्यासेज गरे । आमा उमा कँडेलका अनुसार भ्वाइस म्यासेज पठाएर उनीहरूले भनेका थिए, ‘हामी बैंगलोर गयौं, पैसा कमाएपछि आउँछौँ ।’
भारतको महाराष्ट्रस्थित मुम्बईको मिरा भाइन्दरबाट १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना भागेर नेपाल आएका थिए ।
प्रहरीका अनुसार उनीहरू स्थानीय चक्रधर प्रजापतिको घरमा डेरा लिएर बस्दै आएका थिए ।
भारतबाट भक्तपुरमा आए लगत्तै डेरा खोज्न जाँदा उनीहरूले भनेका थिए, ‘यहाँ कलेज पढ्छौँ ।’ मुम्बईमा अभिभावकलाई कम्प्युटर कक्षा जान्छौँ भनेर हिँडेका उनीहरू नफर्किएपछि सुरुमा अभिभावकले भारतीय प्रहरीलाई जानकारी गराएका थिए ।
घटनापछि मृतक दिदी बहिनीका बुवा वासुदेव कँडेल काठमाडौँ आउँदै गरेको बुझिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया