भारतीय बजेट सार्वजनिक, नेपाललाई ७०० करोड भारु अनुदान दिने
काठमाडौं, ९ साउन २०८१
भारत सरकारले वित्त वर्ष २०२४/ ०२५ को युनियन बजेट सार्वजनिक गरेको छ । मंगलबार वित्त मन्त्री निर्मला सितारमणले बजेट सार्वजनिक गरेकी हुन् ।
सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्षभन्दा ५० करोड भारतीय रुपैयाँ बढी अनुदान दिने उल्लेख गरिएको छ ।
यसअघि फेब्रुअरी १ पनि अन्तरिम बजेट पेश गर्दै सीतारमणले नेपाललाई दिने अनुदान रकममा १०० करोड भारतीय रुपैयाँ बढाएकी थिइन् ।
गत वर्ष फेब्रुअरी १ मा प्रस्तुत २०२३/२०२४ को बजेटमा नेपाललाई ५५० करोड भारतीय रुपैयाँ अनुदान सहयोग गर्ने उल्लेख थियो । तर अन्तरिम बजेट पेश गर्दै यसपटक गएको फेब्रुअरी १ मा उक्त रकमलाई परिमार्जन गर्दै ६५० करोड भारु पुर्याइएको थियो ।
चुनाव सकिएपछि ल्याइएको पूर्ण बजेटमा पनि भारतीय वित्तमन्त्री सीतारमणले मंगलबार २०२४/२५ को बजेट पेश गर्दै नेपाललाई दिने अनुदान ७०० करोड पुर्याएकी छिन् ।
भारतले दक्षिण एसियामा सबैभन्दा धेरै अनुदान भुटानलाई र सबैभन्दा कम अनुदान बंगलादेशलाई छुट्टयाएको छ । भुटानले २०६८ करोड भारु अनुदान पाउँदा बंगलादेशले १२० करोड भारुमात्र अनुदान पाउने भएको छ । यस्तै, दक्षिण एसियामा नेपाल भुटानपछि दोस्रो धेरै अनुदान पाउने मुलुक हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया