२०८२ फाल्गुन ६ | Feb 18, 2026

भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने १० वटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २०
|
510 views

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमार्फत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ।

नेपालमा भारत सरकारको अनुदान सहयोगमा कूल ६२ करोड पाँच लाख परियोजना लागतमा १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) सञ्चालन गर्न नेपाल स्थित भारतीय दूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकार परियोजना कार्यान्वयनका एजेन्सीहरू बीच आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

दश परियोजनाहरुमध्ये कोशी प्रदेशको ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित सान्बा माध्यमिक विद्यालयको निर्माण, कोशी प्रदेशकै सोलुखुम्बुको लिखु पिके गाउँपालिकास्थित न्गाग्युर न्यिङ्मा पल्युल ढोङ्गाग छोलिङ गुम्बाको निर्माण, बागमती प्रदेशको चितवनको भरतपुर महानगरपालिकास्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयमा नेपाल–भारत मैत्री ई पुस्तकालयको निर्माण, बागमती प्रदेशको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं.३ मा स्वास्थ्य चौकी भवनको निर्माण र बागमती प्रदेशको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं. ६ मा स्वास्थ्य चौकी भवनको निर्माण रहेका छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशको गुल्मीको धुर्कोट गाउँपालिकास्थित निन्युखर्क माध्यमिक विद्यालयको निर्माण, लुम्बिनी प्रदेशको रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित नयाँ गाउँ माध्यमिक विद्यालय भवनको निर्माण, कर्णाली प्रदेशको हुम्लाको चंखेली गाउँपालिकामा नेपाल–भारत मैत्री अस्पतालको भवन निर्माण, सुदूरपश्चिम प्रदेशको कैलालीको धनगढी उपमहानगरपालिकास्थित सिद्धनाथ माध्यमिक विद्यालयको निर्माण र सुदूरपश्चिम प्रदेशको बझाङको जयपृथ्वी नगरपालिकास्थित श्री सत्यवादी माध्यमिक विद्यालयको प्रशासनिक तथा छात्रावास भवनको निर्माण पनि परियोजनामा समावेश छन् ।

नेपालका यी र यस्ता परियोजनाहरू नेपाल सरकारका स्थानीय निकायहरू मार्फत कार्यान्वयन गरिनेछ । यस्ता किसिमका परियोजनाहरूको कार्यान्वयनले नेपाली जनतालाई शिक्षा, स्वास्थ्य सेवा र सांस्कृतिक सुविधाहरू प्रदान गर्न थप मद्दत गर्ने विश्वास राखिएको छ ।

सन् २००३ यता भारत सरकारले नेपालमा ५७३ भन्दा बढी एचआईसीडीपीहरुमा कार्य गरिसकेको छ । हालसम्म नेपालका ७ वटै प्रदेशका तल्लो तहमा शिक्षा, स्वास्थ्य, सडक तथा पुल, नदी तालिम, खानेपानी, विद्युतीकरण, सिँचाइ, संस्कृति, समाज कल्याण र अन्य सार्वजनिक उपयोगिताहरूको सिर्जनाका क्षेत्रमा ४९५ परियोजनाहरू पूरा भइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया