भिटोफ-नेपालको पर्यटन प्रवर्धनात्मक कार्यक्रम सुसम्पन्न

काठमाडौँ २९ माघ २०८०।

माधव घिमिरे ‘अटल’

ग्रामीण पर्यटन प्रवर्धन मञ्च, नेपाल (भिटोफ-नेपाल)ले ग्रामीण पर्यटनलाई प्रवर्धन र सम्वर्द्धन गर्ने हेतुले धादिङको धुनीबेसी, नौबीसेदेखि कलदेवीस्थान, मदने गौचरन, टोड्के मैदान हुँदै पुनः नौबीसे आई एकदिने पैदलयात्रा सफलतापूर्वक सम्पन्न गरेको छ । अध्यक्ष गोपाल थापाका अनुसार, काठमाडौँबाट त्यता गएको जम्बो टोलीलाई वागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले धुनीबेसीमा स्वागत गरेका थिए । काठमाडौँबाट गएको टोलीलाई स्वागतार्थ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जमकट्टेलले ग्रामीण पर्यटन प्रवर्धनका निम्ति प्रदेशले गर्नुपर्ने कुनै पनि सहयोग गर्न आफू कटिबद्ध रहेको बताए । पर्यटनलाई विकास गर्न सकियो भने विदेश भासिन खोजेको जनशक्ति केही मात्रामा भने पनि रोक्न सकिने उनको कथन थियो । त्यसरी नै भिटोफ-नेपालका अध्यक्ष गोपाल थापाले होम स्टे ट्रेकिङ ट्रेल बनाउन सके यो क्षेत्रमा आन्तरिक पर्यटक आकर्षित गर्न सकिने राय व्यक्त गरे । त्यसैगरी सभापतिको आसनबाट धुनीबेसी नगरपालिका वार्ड नं. -६, का वडाध्यक्ष रमेश आचार्यले उक्त भेगमा कृषि पर्यटन र धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको जिकिर गरे । त्यसका बाबजुद सम्बन्धित निकायको फिटिक्क ध्यान आकृष्ट हुन्न नसकेको उनको दुखेसो थियो । दोस्रो चरणको कार्यक्रममा वडा सदस्य, नगर कार्यपालिका सदस्यलगायत स्थानीय राजनीतिकर्मीको उल्लेख्य सहभागिता थियो । गोपाल थापाले अध्यक्षता गरेको उक्त कार्यक्रममा पनि सो क्षेत्रमा पर्यापर्यटन र धार्मिक पर्यटन प्रवर्धनलाई विशेष जोड दिइएको थियो । अधिकांश वक्ताहरूले आन्तरिक पर्यटन प्रवर्धन गर्न आफूहरू दत्तचित्त भएर समर्पित हुने वाचा गरेका थिए । कार्यक्रममा राजधानीबाट पर्यटन व्यवसायी, सञ्चारकर्मी र नियात्राकारको उत्साहपूर्ण सहभागिता थियो भने आमस्थानीयवासी चाहिँ बेखबर र उदासीनझैँ देखिन्थे

फेसबुकबाट तपाईको प्रतिक्रिया