२०८२ भाद्र ६ | Aug 22, 2025

भूपरिवेष्टित विकासशील राष्ट्रलाई पछाडि पार्न नहुनेमा प्रधानमन्त्रीको जोड

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २१

आवाजा । तुर्कमेनिस्तानको आवाजामा भइरहेको भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पछाडि पार्न नहुनेमा जोड दिएका छन् ।

सम्मेलनअन्तर्गत बुधबार ‘व्यापार तथा वाणिज्यको सहजीकरण र क्षेत्रीय सहकार्य’सम्बन्धी ‘राउन्ड टेबल’को सहअध्यक्षता गर्दै उनले निष्पक्ष व्यापार सर्तहरू र पारवहन व्यवस्थाका लागि सामूहिक दबाब दिनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले भने, “यसै वर्ष जुनमा हामीले पारित गरेको सेभिया प्रतिबद्धताको कार्ययोजनाले पनि पूर्वाधार निर्माण, स्मार्ट व्यापार, कोरिडोरमा लगानी, यातायात र रसद उद्योगको विकास, व्यापार र भन्सार प्रक्रियालाई डिजिटलाइज गर्ने विषयलाई महत्त्व दिएको छ । यसको पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि बलियो प्रतिबद्धता आवश्यक पर्दछ” । “यी उपायको इमान्दारपूर्वक कार्यान्वयनसँगै भूपरिवेष्टित मुलुकले समावेशी र दिगो विकासका लागि आफ्नो व्यापार क्षमतालाई उपयोग गर्न सक्छन् । यसका लागि हामीले द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय स्तरमा सहयोग र साझेदारीलाई बलियो बनाउन आवश्यक छ ।”

यस्तै उनले सूचना प्रविधि, उत्पादन र सेवाहरूको व्यापारलाई प्रवर्द्धन गरी क्षेत्रीय एकीकरणलाई गहिरो बनाउने र अर्थपूर्ण साझेदारीलाई बढावा दिन आग्रह गर्दै हामीले विश्वव्यापी व्यापारमा यी मुलुकको हिस्सा दोब्बर गर्ने, सेवा निर्यात विस्तार गर्ने, थप विविध र लचिलो अर्थतन्त्रलाई बढावा दिने प्रतिबद्धता गरी यसलाई पूरा गर्नुपर्नेमा जोड दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया