२०८२ भाद्र ६ | Aug 22, 2025

भृकुटीमण्डपमा तीन वर्षभित्र अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी हल बन्ने, अर्थमन्त्री

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २१

काठमाडौं। काठमाडौंको भृकुटीमण्डमा अन्तर्राष्ट्रियस्तरको आधुनिक प्रदर्शनी हल निर्माण गरिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी तीन वर्षभित्रमा अन्तर्राष्ट्रियस्तरको आधुनिक प्रदर्शनी हल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्

आज (बुधबार) नेपाल अटो मोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ को उद्घाटन गर्दै मन्त्री पौडेलले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले यस किसिमको अन्तर्राष्ट्रिस्तरको आधुनिक प्रदर्शनी आयोजना गर्दा निजी क्षेत्रले भोग्नुपरेको कठिनाइलाई सरकारले मध्यनजर गर्दै एउटा इभेन्ट्स आयोजना गर्नका निम्ति आयोजक संस्थालाई पसिना पुछ्ने स्थिति आउँछ त्यसैले पनि यस किसिमको हैरानीको अन्त्य गर्न अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीको आवश्यकता रहेको बताए । उनले भने, ‘यो हैरानीको अन्त्य गर्न सरकारले चालू आर्थिक वर्षको बजेटमा भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल बनाउने कुरालाई उच्च महत्वका साथ समावेश गरेको छ।’

उपप्रधान तथा अर्थमन्त्री पौडेलले ढिलोमा तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम अघि बढिसकेको जानकारी गराए । ‘सके दुई वर्षभित्र, नभए पनि तीन वर्षभित्र यो भृकुटीमण्डपमा आधुनिक र अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण भइसक्नेछ,’ उनले भने ।

यसअघि अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्‌मा आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणका क्रममा भृकुटीमण्डपको विषय उल्लेख गरेका थिए ।

भृकुटीमण्डपमा जम्मा २ सय १४ रोपनी जग्गा रहेको छ । जसको एक छेउमा त्रिपालले छाएका अस्तव्यस्त छाप्रा छन् । यसको उत्तरमा प्रदर्शनी मार्ग, पूर्वमा टुकुचा नदी, पश्चिममा भद्रकाली जाने बाटो र दक्षिणमा नेसनल ट्रेडिङ सीमा रहेको भृकुटीमण्डप २०२२ सालमा औद्योगिक प्रदर्शनी स्थलका रूपमा स्थापना गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया