
काठमाडौं । आज गणतन्त्र स्थापनाको १८ औं वर्ष पुरा भएको दिन । यस अवसरमा राजधानी लगायत देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
राजधानी काठमाडौंमा भने गणतन्त्र दिवसको दिन नेकपा एमाले र राजावादीहरुले गर्ने छुट्टाछुट्टै प्रदर्शनको क्रममा सवारी आवागमनको व्यवस्था मिलाउन ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ । आज उपत्यकामा झण्डै ८ सयको हाराहारीमा ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
एकातिर नेकपा एमालेलाई गणतन्त्र दिवसको उत्सव मनाउन भ्याइनभ्याइ छ भने अर्कोतिर राजावादीहरुलाई गणतन्त्र खारेज गरी राजसंस्था पुनर्स्थापनाको चटारो देखिन्छ । काठमाडौंको शान्तिबाटिकामा नेकपा एमालेले ११ बजेदेखि करिब साढे २ बजेसम्म र राजावादीहरुले त्यसलगत्तै प्रदर्शन गर्ने तयारी गरेका छन् ।
एमालेको साँस्कृतिक झाँकीसहितको प्रदर्शन भृकुटीमण्डपबाट सुरु भई शहीदगेट, बीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप आएर सम्पन्न हुने तालिका छ भने राप्रपा, राप्रपा नेपाल सहित राजावादी दल र संस्थाहरुले रत्नपार्क–शान्तिबाटीका क्षेत्रमा प्रदर्शन गर्दैछन् ।
यसलाई मध्यनजर राख्दै रत्नपार्क–शान्तिबाटिका र भृकुटीमण्डप, पुतलीसडक आसपासका क्षेत्रहरुमा हुने सवारी आवागमनलाई सहज बनाउनका लागि उल्लेख्य संख्यामा ट्राफिक प्रहरी परिचालन गरिएको छ । त्यसैले दुवै पक्षको प्रदर्शनलाई लक्षित गरी पर्याप्त सुरक्षा प्रबन्ध मिलाइएको र कार्यक्रम स्थलतर्फ सवारी प्रवेश गर्न नदिई डाइभर्सन गर्ने व्यवस्था मिलाइएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले जानकारी दिए ।
उनका अनुसार कुनै अप्रिय घटना नहोस् र निषेधित क्षेत्रमा प्रवेश नहोस् भनेर त्यसै अनुसारको सुरक्षा योजना बनाएर सुरक्षा जनशक्ति परिचालन गरिएको छ ।
गणतन्त्र पक्षधर र विरोधीहरुको प्रदर्शन स्थल र प्रदर्शन समय अलग अलग भए पनि काठमाडौं उपत्यकाको यातायात आवागमनमा केही प्रभाव परेको छ । त्यसैले सवारी आवागमनको प्रबन्ध मिलाउन तत्कालका लागि ७८३ जना ट्राफिक प्रहरीहरु खटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया