२०८२ भाद्र ६ | Aug 22, 2025

भोटेकोशीमा बाढीको वितण्डाः चीन–नेपाल सम्पर्क विच्छेद, सयौं गाडी बगाएको अनुमान

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २४

ललितपुर । भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालतर्फ मात्र नभएर चीनतर्फ पनि ठूलो धनजनको क्षति भएको छ । बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाएको छ भने नेपाल र चीनबीच सम्पर्क विच्छेद भएको छ ।

बाढीका कारण भन्सार यार्डमा रहेका सयौं मालबाहक गाडी बगाउँदा ठूलो धनजनको क्षति भएको छ । अचानक आएको बाढीका कारण नेपाल र चीन दुवै तर्फ क्षति पुगेको रसुवागढी भन्सार स्रोत बताएको छ ।

स्रोतका अनुसार यतिबेला स्याफ्रुबेसीदेखि अगाडिको सडक पुरै चर्किएकाले आवतजावतमा समस्या थपिएको छ । यतिबेला घटनास्थलतर्फ अगाडि बढेको उद्धार टोलीले पैदल नै जानुपर्ने बाध्यता सृजना भएको हो ।

एकाएक आएको बाढीका कारण टिमुरेस्थित भन्सार यार्डबाट १० भन्दा बढी मालबाहक कन्टेनरका डिब्बा समेत बगाएको जानकारी प्राप्त भएको छ ।

सरकारले उद्धारका लागि जतिसक्दो चाँडो घटनास्थलतर्फ हेलिकप्टर पठाउने तयारी गरिरहेको छ भने बेपत्ताको खोजी कार्य तीब्र पारिएको छ ।

अहिलेसम्म बाढीका कारण १८ जना बेपत्ता भएको र सयभन्दा बढी गाडी बगाएको छ ।

त्यसैगरी जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट ठुलो बाढी प्रवेश गरेको भन्दै उच्च सतर्कता अपनाउन आइ अलर्ट जारी गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया