मध्यभोटेकोसीको प्रसारण लाइन निर्माणमा सहमति जुट्यो

सिन्धुपाल्चोक १४ भदौ २०८१ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोक क्षेत्र नं २ का सङ्घीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, वडाध्यक्ष, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष र आयोजनाबीच बुधबार भएको छलफलमा उक्त सहमति जुटेको हो ।

बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युत् गृहको स्वीचयार्डबाट बाह्रबिसे–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा १४ महिनादेखि स्थानीय बासिन्दाको अवरोध थियो ।

कूल दुई सय २० केभी सिङ्गल सर्किट प्रसारण लाइनका लागि १३ वटा टावर निर्माण गरिएको थियो । बाह्रबिसे–३ र ४ स्थित पलाँतीका स्थानीयको अवरोधका कारण आयोजनाले दुई किमी तार तान्न सकिरहेको थिएन । उक्त क्षेत्रमा पर्ने प्रसारण लाइनको मार्गधिकार (राइट अफ वे)मा एक सय २४ जना जग्गाधनीको जग्गा पर्दछ ।

छलफलमा आयोजनाले संस्थापक सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत नगरपालिकामार्फत बाह्रबिसे नगर अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने सहमति भएको छ । आयोजनाको प्रभावित क्षेत्रअन्तर्गत बाह्रबिसे–३ र ४ वडालाई पनि समावेश गराई अन्य प्रभावित क्षेत्रलाई जस्तै विकास निर्माणका लागि सहायता उपलब्ध गराउने, प्रसारण लाइनको मार्गधिकार पर्ने जग्गा तथा संरचनाको उचित क्षतिपूर्ति उपलब्ध गराउने र प्रसारण लाइनको बाँकी रहेको निर्माण तत्काल सुरु गर्ने सहमति जुटेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले जानकारी दिनुभयो ।

मन्त्री खड्काले निर्माण सम्पन्न भइसकेको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् प्रणालीमा समाहित गर्नका लागि प्रसारण लाइन निर्माणमा जारी अवरोध खुलाउन महत्वपूर्ण सहमति भएको बताउनुभयो । उहाँले भएका सहमति सबै पक्षले इमान्दारीपूर्वक कार्यान्वयन गरी आयोजना निर्माणमा रहेका बाँकी काम एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिनुभयो ।

सहमतिबमोजिम तत्काल निर्माण सुरु हुने जानकारी दिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तामाङले निर्माणको मन्त्रालय र सरोकार भएका निकायले नियमित अनुगमन गर्ने बताउनुभयो । सांसद बस्नेतले विगतमा आयोजनालाई अगाडि बढाउन आफूले ठूलो जोखिम लिएको उल्लेख गर्दै हाल स्थानीयले उठाएका जायज मागलाई पूरा गराउन छलफल गरी सहमति जुटाइएको बताउनुभयो ।

स्थानीयको अपनत्व हुने आयोजना निर्माण अगाडि बढाइएको उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइनका बाँकी काम सम्पन्न गरी आयोजनाबाट तत्काल विद्युत् उत्पादन सुरु गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो । उहाँले आयोजनाको विद्युत् प्रवाहका लागि २२०÷१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

मध्यभोटेकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिनेछ । निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादन सुरु गर्न संरचना तथा उपकरणहरु परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो हाल सुरुङको मर्मत र सुधार सकिएको छ । आयोजनाबाट असोजभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ बाँकी कामहरु भइरहेका छन् ।

मध्यभोटेकोसीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । उहाँका अनुसार दुई सय केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युत्लाई सोही सबस्टेसनमार्फत एक सय ३२ केभीमा झारेर प्रवाह गरिनेछ । यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको एक सय ३२ केभी प्रसारण लाइनलाई बाह्रबिसे सबस्टेसनमा लैजाने काम कम्पनीले अहिले गरिरहेको छ ।

कार्यकारी निर्देशक घिसिङका अनुसार सोही प्रसारण लाइनबाट मध्यभोटेकोसीको विद्युत् लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिनेछ । अस्थायी वैकल्पिक व्यवस्था खिम्ती–बाह्रबिसे वा बाह्रबिसे–काठमाडौँ प्रसारण लाइन सम्पन्न नभएसम्म रहनेछ । उक्त लाइन सम्पन्न भएपछि सोहीमार्फत विद्युत् प्रवाह हुनेछ । मन्त्रीसहितको टोलीले बाह्रबिसे सबस्टेसन र मध्यभोटेकोसी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षणसमेत गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया