महालक्ष्मी बैंकको सीईओमा दिपेश लम्साल नियुक्त

BusinessPati बिजनेस पाटी
|
२०८० माघ २४
|
510 views

ललितपुर - काठमाडौँ २४  माघ २०८०-महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिपेश लम्साल नियुक्त भएका छन् । माघ २३ गते सम्पन्न बैंक सञ्चालक समितिको ५८५औं बैठकले लम्साललाई माघ २४ गतेबाट लागू हुने गरी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।उनले दुईपटक कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा महालक्ष्मी विकास बैंकको नेतृत्व गरिसकेका छन् । बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत लम्साल पछिल्लो समय तत्कालीन प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाको राजीनामापछि गत माघ १ गतेदेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा हुनुहुन्थ्यो । यसअघि २०७७ सालमा पनि लम्सालले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा सफलतापूर्वक बैंकको नेतृत्व गर्नुभएको थियो ।
१५ वर्षदेखि यसै बैंकमा कार्यरत लम्सालसँग बैंकिङ क्षेत्रको २८ वर्ष लामो अनुभव छ । यसबीचमा उहाँले विभिन्न वाणिज्य र विकास बैंकको उच्च व्यवस्थापन तहमा रहेर काम गर्नुभएको छ ।
बैंक परिवारले मंगलवार दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा नवनियुक्त सीईओ लम्साललाई स्वागत गरेको थियो । सो अवसरमा सीईओ लम्सालले बैंकप्रतिको जनविश्वासलाई अझ बलियो बनाउादै गुणस्तरीय सेवा प्रदान गर्न सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि प्रयत्नशील रहन कर्मचारीहरुलाई आग्रह पनि गर्नुभयो ।नवनियुक्त सिईओ लम्सालले केन्द्रीय बैंकको नीति, नियमको अनुपालना गर्दै सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीको हितमा काम गर्ने बताउनुभयो । ‘ग्राहकलाई गुणस्तरीय सेवा र सेयरधनीलाई उच्च प्रतिफल’ अवधारणालाई केन्द्रबिन्दुमा राख्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ ।

 पात्रो/राशिफल  रेडियो VIDEO YouTube