
ललितपुर । जिल्लामा सन् २०२५ को आठ महिनामा एक लाख १६ हजार ७८७ विदेशी पर्यटक भित्रिएका छन् । यहाँ सन् २०२५ को जनवरीदेखि अगस्टसम्म सार्क राष्ट्रबाट एक लाख एक हजार १६१ जना र अन्य देशबाट १५ हजार ६२६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप)जोमसोमले जनाएको छ ।
यहाँ कूल विदेशी पर्यटक सङ्ख्याको ८६ दशमलव ६२ प्रतिशत सार्क राष्ट्रबाट र १३ दशमलव ३७ प्रतिशत अन्य राष्ट्रका पर्यटक यहाँ भित्रिएका एक्याप कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिएका छन् ।
यहाँ सन् २०२५ को जनवरीमा सार्कका तीन हजार ८३० र अन्य राष्ट्रका ५१६ गरी चार हजार ३४६ जना, फेब्रुअरीमा सार्कका चार हजार ५१० र अन्य ७९३ गरी पाँच हजार ३०३, मार्चमा सार्कका १६ हजार ५०७ र अन्य दुई हजार ५८८ गरी १९ हजार ९५, अप्रिलमा सार्कका अठार हजार ३०४ र अन्य चार हजार ८४८ गरी २३ हजार १५२ जना, मेमा सार्कका २१ हजार ९४६ र अन्य तीन हजार ७८१ गरी २५ हजार ७२७, जुनमा सार्कका १९ हजार ६४९ र अन्य एक हजार २०९ गरी २० हजार ८५८, जुलाइमा सार्क नौ हजार ७९४ र अन्य ८२५ गरी १० हजार ६१९ र अगस्टमा सार्कका छ हजार ६२१ र अन्य एक हजार ६६ जना गरी सात हजार ६८७ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्यापको तथ्याङ्क छ ।
यहाँ सन् २०२४ को सोही अवधिभन्दा २०२५ मा विदेशी पर्यटकको सङ्ख्या २१ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । यसपटक २५ हजार ६७८ जना विदेशी पर्यटक बढी आएको कार्यालय प्रमुख गुप्ताले जानकारी दिनुभयो । सन् २०२४ को सोही अवधिमा सार्क राष्ट्रबाट ७८ हजार ७६० जना र अन्य राष्ट्रबाट १२ हजार ३४९ जना विदेशी पर्यटकले यहाँ भ्रमण गरेको उनले बताए ।
अघिल्लो वर्षको सो अवधिभन्दा हाल सार्क राष्ट्रमा २२ हजार ४०१ अर्थात् (२२ दशमलव १४) प्रतिशत र अन्य विदेशी पर्यटकमा तीन हजार २७७ जना अर्थात् (२० दशमलव ९७) प्रतिश पर्यटक वृद्धि भएको देखिन्छ ।
मुस्ताङमा सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक लाख २५ हजार ७१९ जना विदेशी पर्यटक भित्रिएका थिए । जसमध्ये सार्कका एक लाख एक हजार १६१ जना र अन्य राष्ट्रका १५ हजार ६२६ जना पर्यटक थिए ।
कार्यालयको विवरणअनुसार मुस्ताङ भित्रिएका विदेशी पर्यटकमध्ये ८० प्रतिशत भारतीय पर्यटक रहेका छन् । यहाँ भित्रिने अधिकांश भारतीय पर्यटकले मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने गरेको जनाइएको छ ।
पछिल्लो समय राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको यात्रा सहज हुँदै जान थालेपछि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको संस्था बर्सेनि वृद्धि भइरहेको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमले मुस्ताङलाई घुम्नुपर्ने सूचीमा सूचीकृत गरेसँगै यहाँ विदेशी पर्यटकको सङ्ख्या अनपेक्षित रूपमा वृद्धि हुन थालेको जानकारहरू बताउँछन् ।
यो जिल्ला धार्मिक, सांस्कृतिक र जैविक विविधतासँगै यहाँको पृथक भूगोलका कारण पर्यटकीय आकर्षणको केन्द्र बन्दै जान थालेको हो । यहाँ सदियाँै पुराना गुम्बा, माने, छोर्तेन, गुफा, परम्परागत सांस्कृतिक घरका संरचना, तालतलैया, लोमान्थाङ ऐतिहासिक दरबार, कोरलानाकालगायत पर्यटकीय गन्तव्य भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया