ललितपुर - ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो सम्पूर्ण ध्यान संविधानसभाको चुनामा भएको बताएका छन् । उनले आफूले अहिलेसम्म निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारे ।
खाज (बुधबार) नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले बाहिर हल्ला भए जस्तो कुनै पनि पार्टीका तर्फबाट निर्वाचनमा उम्मेदवारी दिन नखोजेको स्पष्ट पार्दै हाल आफ्नो सम्पूर्ण ध्यान वर्तमान सरकारको चुनावमा रहेको स्पष्ट पारे ।
बाहिर जगदीश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिँदै भन्ने खालको चर्चा भइरहेका बेला उनले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको स्पष्ट पारेका छन् ।
उनले भने, ‘म यहाँहरुलाई आज स्पष्ट पार्न चाहन्छु–मैले अहिलेसम्म चुनावमा उठने वा नउठने भन्ने केही पनि निर्णय गरेको छैन । दोस्रो कुरा यहाँहरुलाई म स्पष्ट पार्न चाहन्छु–म आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, गएको छैन । वार्ता वा छलफल गरेको छैन,’ उनले भने, ‘आउँछु पनि भनेको छैन । जान्छु भनेको छैन । मैले केही पनि भनेको छैन । र, मेरो अहिले सम्पूर्ण ध्यान यो अन्तरिम सरकारको सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको ध्यान चुनाव गराउन रहेको छ ।’
कतिपय सञ्चारमाध्यमहरूले आफूले उम्मेदवारी दिन लागेको विषयलाई लिएर समाचार सम्प्रेषण गरेकोप्रति आपत्ति जनाउँदै मन्त्री खरेलले आजका दिनसम्म आफूले निर्वाचनमा उठ्नका लागि कुनै पनि पार्टीसँग छलफल समेत नगरेको भन्दै यस्ता सञ्चामाध्यमहरूप्रति असन्तुष्टि व्यक्त गरे ।
उनले भने, ‘आजको दिन यो मितिसम्म म कुनै पनि पार्टीमा गएको पनि छैन । चुनाव उठछु वा उठ्दिन केही पनि भनेको छैन । तर समाचार अलिकति फरक ढंगले आइरहेको छ । त्यसप्रति मेरो आपत्ति केही पनि छैन । तर सही समाचार चाहिँ आज म तपाईंहरूमार्फत भन्छु– मैले चुनाव उठ्ने अथवा नउठ्ने निर्णय गरेको छैन,’ उनले भने ।

बिजनेस पाटी