२०८२ भाद्र ६ | Aug 22, 2025

मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, नगरप्रमुखको टाउकोमा १७ वटा टाँका

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १

चन्द्रपुर (रौतहट) रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर दोहोरो झडप हुँदा नगरप्रमुख प्रेमलाल साह कानुसहित पाँचजना घाइते भएका छन् । आज दिउँसो देवाहीगोनाही–९ धरहरीटोलस्थित कृष्ण मन्दिरमा लाग्ने श्रीकृष्ण जन्माष्टमी मेलाको उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा नगरप्रमुख कानुसहित पाँचजना घाइते भएका हुन । झडपमा नगरप्रमुख कानु, देवाहीगोनाही–९ का रामविकाश साह, सोहीटोलका श्यामविनय साह, इलाका प्रहरी कार्यालय देवाहीगुनाहीमा कार्यरत प्रहरी वरिष्ठ हबलदारद्धय जगदीशराय यादव र धनसुन्दर ठाकुर घाइते भएका इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते नगरप्रमुखको टाउकोमा १७ वटा टाँका लगाएको छ । प्रहरी नायब उपरीक्षक कार्कीले हबलदार यादवको टाउकोमा पाँचवटा र हबलदार ठाकुरको टाउकोमा चार वटा टाँका लगाइएको जानकारी दिनुभयो । उहाँका अनुसार अन्य घाइतेहरूको गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवाहीगोनाही–९ का अन्दाजी ३५–४० वर्षीय राधामोहन साह, अन्दाजी ३५–४० वर्षीय विनोद साह र अन्दाजी २१–२२ वर्षीय रीतिक साहलाई पक्राउ गरिएको उपरीक्षक कार्कीले उल्लेख गर्नुभयो । नगरप्रमुख कानु पक्षले उहाँबाट रिवन काटी मेलाको उद्घाटन गर्ने भनिरहँदा अर्को पक्षले औपचारिक उद्घाटन नगरी मेला सञ्चालन गर्ने भनेपछि विवाद भएको थियो । उक्त विवाद बढेपछि दुवै पक्षबीच झडप भएको उहाँले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया