२०८२ फाल्गुन ६ | Feb 18, 2026

मौनताको पिण्ड

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १४
|
5.1k views

आन्ना ढुंगेल नीता

मेरा बाको मौनता गल्ती अनि कमजोरी थिएन
आज बुझ्दैछु उनको मौनतामा झुट पक्कै थिएन
स्वीकार्छु, मैले बुझ्न अनि उनले बुझाउन नसकेकै हो
तर उनको आक्रोशमा पक्कै कमजोरी बाहेक केही थिएन ।

बा ! आज म इतिहासका पाना पल्टाउँदै छु
अनि खोज्दैछु तिम्रो कमजोरी कहानेर थियो भनेर
यस धर्तीमा रहुन्जेल तिमीले कहिल्यै बुझेनौ बा !
कमजोरी लुकाउन नजान्नू नै कमजोरी हो भनेर ।

तिम्रा मौनतालाई हतियार बनाएर मार हान्नेहरु
आज तँछाड मछाड गर्दै परेड खेलिरहेछन्
आफ्ना गल्ती र कमजोरीलाई छपक्क पारेर
सत्यतालाई लत्याएर मौनताको पिण्ड खाइरहेछन्

बा ! मलाई तिम्रा पाइलाहरु पछ्याउन मन छ
तिमी जस्तै मौनतामै हराउन अनि बिलाउन मन छ
तर ठूलो हुँकारले आफ्ना कुकर्म ढाक्नेहरुको अगाडि
मेरो मौनता अनि धैर्यता टिक्ला या नटिक्ला ।

यहाँ त झुट र कमजोरी लुकाउन जान्नु पर्दोरहेछ
त्यो चाहिँ सकूँला नसकूँला, समयले देखाइदिनेछ
सत्यतालाई पछ्याइरहँदा सबैका आँखा बिझ्ने रैछ बा !
बिझे बिझोस् तर म सत्यकै बाटोमा अडिग रहेनछु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया