ललितपुर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले व्यवसायीहरूलाई यातायात क्षेत्रमा ठूलो लगानी गर्न आँट गर्नु पर्ने बताएका छन् । उनले व्यवसायीहरूलाई वर्तमान आर्थिक अवस्थाबाट निराश नहुन आग्रह गर्दै उच्च मनोबलका उर्जा र यातायात क्षेत्रमा लगानी गरे राष्ट्र बैंकबाट समेत सहजिकरण गर्ने बताएका छन् ।
विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले विगतका कठिन समयको स्मरण गराउँदै निजी क्षेत्रले धेरै आरोह–अवरोह पार गरेर यहाँसम्म आइपुगेको बताउँदै आगामी दिनमा उच्च मनोबलका साथ अघि बढ्नुपर्ने बताए ।
उनले व्यवसायीहरूलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउन आह्वान समेत गरे । उर्जा र यातायातजस्ता पूर्वाधार क्षेत्रमा ठूलो खर्च गर्न आँट गर्नुपर्ने बेला आएको उल्लेख गर्दै उनले बैंकिङ क्षेत्रबाट आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको स्पष्ट पारे। गभर्नर पौडेलले बोण्ड जारी गर्ने विषयमा पनि निजी क्षेत्रसँग निरन्तर छलफल र नेगोसेसन भइरहेको जानकारी दिए । उर्जा क्षेत्रमा उत्पादन, प्रसारण र वितरणमा थप लगानीको आवश्यकता औँल्याउँदै यातायात पूर्वाधारमा पनि ठूलो लगानी गर्न सकिने प्रशस्त सम्भावना रहेको बताए । यसका लागि नेपाल राष्ट्र बैंकले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने प्रतिवद्धता जनाए ।
यस्तै गभर्नर पौडेलले भने, “ठूलो खर्च गर्न आँट गरोस, बैंकिङ क्षेत्रबाट हामीले गर्नुपर्ने सहयोग गर्न तयार छौं । बोण्डहरु जारी गर्ने बारेमा पनि हाम्रो नेगोसेसन भएको थियो । उर्जा, यातायात जस्ता क्षेत्रमा राम्रो खर्च गर्न कोशिस गरौँ । उर्जा, यातायातमा धेरै सम्भावना छ, यो भन्दा धेरै राम्रो बनाउन सकिन्छ । सम्भावनाको केही प्रतिशत पनि हामीले प्रयोग गरेको देखिदैन । यातायातमा पनि ठूलो लगानी गर्न आँट गरौँ । राष्ट्र बैंकबाट पनि सहजिकरण गछौँ । म व्यवसायी साथीहरुलाई भन्न चाहन्छु उच्च मनोबल लिएर काम गर्नुहोस्, यो भन्दा प्रतिकूल परिस्थीतिमा मान्छेहरुले मेहनत गरेका छन् । सबै देशहरु विपन्न हुँदा धेरै कारणहरु हुन्छ । हामी अप्ठ्यारो सोचेर बस्नुपर्ने केही कारण छैन । हामी धेरै प्रकारका आरोह अवरोह पार गरेर यहाँ आइपुगेका छौं । २० वर्ष अघि हाम्रो देशमा आन्तरीक द्वन्द थियो । राजदरबार हत्यकाण्ड भएका थियो । यतिधेरै भुइचालोहरु आए । धेरै प्रकारका आरोह अवरोहरु भएको भइ छ । त्यही पनि २–४ ओटा कुराहरु छन् हामीलाई स्टेबल बनाइरहेको छ । त्यो मध्ये एक हाम्रो आवधिक निर्वाचनहरु हुन । निर्वाचनहरु स्वच्छ भइरहेको छ भन्नेमा हामी सबैले विश्वास गर्दै आएका छौं । कम पैसा भएकाहरु पनि स्वतन्त्र रुपमा उठेर चुनाव जितिरहेका छन् । हरेक निर्वाचनमा परम्परागत पार्टी बाहिरबाट पनि चुनाव जितेका छन् । यो चिजहरुले हामीलाई अघि बढ्न पनि सघाउ पुर्याइरहेको छ ।’
गभर्नर पौडेलले राम्रा सम्भावना बोकेका उर्जा र यातायातको क्षेत्रमा निजी क्षेत्रका व्यवसायीहरूलाई लगानी गर्न आग्रह गर्दै यसका लागि राष्ट्र बैंकले सहजिकरण गर्न तयार रहेको भन्दै लगानीकर्तालाई आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गरे ।















फेसबुकबाट तपाईको प्रतिक्रिया