
ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले कारागार सरुवाको माग राखेका छन् । उनले रुपन्देही कारागारबाट काठमाडौंको डिल्लीबजार कारागारमा सरुवाको माग राखेका हुन् ।
हाल उनी सहकारी ठगीको आरोपमा जिल्ला कारागार, रुपन्देहीको थुनामा रहेका छन् । उनले रुपन्देही कारागारबाट सरुवा भएर काठमाडौंको डिल्लीबजार कारागार आउने इच्छा राखेपछि कारागार प्रशासनले प्रक्रिया अघि बढाएको बुझिएको छ ।
जिल्ला कारागार रुपन्देहीका अनुसार, सर्वोच्च अदालतको आदेशपछि थुना अवधि थप लम्बिने भएपछि उनले काठमाडौं सरुवा हुने चाहना व्यक्त गरेका थिए । यसअघि पनि लामिछानेलाई सरुवा हुन चाहे र नचाहेको बारे सोधिएको थियो । त्यसबेला उनले आफूलाई रुपन्देहीमै ठिक भएको बताएका थिए ।
घरपरिवार र पार्टीका नेताहरुसँग भेटघाट असह भएको कारण देखाउँदै उनले काठमाडौं सरुवाको माग राखेको बुझिएको छ । यसअघि अदालतले समेत उनले सरुवाका लागि इच्छा देखाए सहजिकरण गरिदिन भनेको थियो । लामिछानेले सरुवाका लागि जिल्ला अदालत, रुपन्देहीबाट अनुमति समेत लिइसकेका छन् ।
कारागार प्रशासनका अनुसार कैदीबन्दीकोे आफूलाई पायक पर्ने स्थानमा सरुवा माग गर्न पाउने अधिकार हुन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया