२०८२ भाद्र ७ | Aug 23, 2025

राजस्व संकलन र पुँजीगत खर्चमा सरकार असफल हुँदै

BusinessPati बिजनेस पाटी
|
२०८० फाल्गुन ८

काठमाडौँ ०८  फागुन २०८०

सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार २ खर्ब २१ अर्ब घटाउँदा पनि सात महिनाको अवधिमा नत आधा राजस्व उठाउन सकेको छ, न त बजेटको आधा खर्च नै गर्न सकेको छ ।

महत्वाकांक्षी बजेटको लक्ष्य भेटाउन नसक्ने आँकलनपछि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बजेटलाई १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाखमा झारेको थियो ।

बजेटको आकार घटाउँदा पनि सरकारको सोमबारसम्मको राजस्व संशोधित बजेट लक्ष्यको ४० दशमलव ६८ प्रतिशत मात्र उठेको छ । सरकारले गत साउनदेखि सोमबारसम्ममा ५ खर्ब ७८ अर्ब ७५ करोड ९९ लाख रुपैयाँ मात्र राजस्व उठाउन सकेको छ । जसमा कर राजस्व ५ खर्ब २१ अर्ब ४३ करोड २१ लाख रुपैयाँ रहेको छ ।यसैगरी गैरकर राजस्वबाट ५७ अर्ब ३२ करोड ७८ लाख उठाएको छ । सरकार राजस्व र खर्चमा मात्र असफल भएको नभईकन घाटा बजेट पूर्ति गर्नका लागि भन्दै अनुदानबाट ४९ अर्ब ९४ करोड ३० लाख पूर्ति गर्ने संशोधित लक्ष्यमा जम्मा ५ प्रतिशत सफल भएको छ । सरकारले वैदेशिक अनुदानबाट जम्मा २ अर्ब ७५ करोड ८० लाख रुपैयाँभन्दा वढी प्राप्त गर्न सकेको छैन ।

गत साउनदेखि अर्थात् सात महिना ६ दिनमा सरकारले ७ खर्ब ८ अर्ब मात्र खर्च गर्न सकेको छ । यो विनियोजन बजेटको करिब ४५ प्रतिशत मात्र हो । सरकारले चालू खर्चतर्फ ५ खर्ब २७ अर्व ५४ करोड ७४ लाख खर्च गरेको छ । यो लक्ष्यको ४६ प्रतिशत हो । सबैभन्दा कमजोर अवस्थामा रहेको पुँजीगत खर्चतर्फ ६६ अर्ब २८ करोड ९६ लाख मात्र खर्चेको छ । यो लक्ष्यको २३ प्रतिशत हो ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकनुसार चालू आवको सात महिनामा सरकारको बजेट १ खर्ब २९ अर्ब ८३ करोड ८७ लाख घाटामा रहेको छ । सरकारले कुल आम्दानी ५ खर्ब ७८ अर्ब ७५ करोड गर्दा कुल खर्च ७ खर्ब ८ अर्ब ५९ करोड पुगेको छ । सात महिनाको अन्तरालमा सरकारी खाता करिब १ खर्ब ३० अर्ब रुपैयाँले घाटामा गएको हो । लक्षित राजस्वको लक्ष्य भेट्ने नदेखेपछि सरकारले अर्धवार्षिक समीक्षामार्फत विनियोजित बजेट संशोधन गर्दा पनि यति घाटामा पुगेको हो ।

बजेट घाटामा पुग्ने भएपछि सरकारले पुँजीगत खर्च जानाजान नगरेको आरोप लगाइएको छ । सरकारले पुँजीगत खर्च नगर्दा बजार चलायमान हुनसकेको छैन । जसका कारण बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको छ भने सर्वसाधारणको खर्च गर्ने क्षमता दिन प्रतिदिन कमजोर हुँदै गएको छ ।

सरकारले चालू आवका लागि जम्मा ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ पुँजीगत खर्च छुट्याएको थियो । जसमा ६६ अर्ब २८ करोडभन्दा बढी खर्च गरिएको छैन । आजको राजधानी दैनिकमा यो समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया