२०८२ भाद्र १० | Aug 26, 2025

राज्य व्यवस्था समिति सभापतिमा न्यौपानेको मात्र उम्मेद्वारी

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १०

ललितपुर । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेद्वारी परेको छ ।

उनको उम्मेद्वारीको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठ छन् । न्यौपाने सोही समितिकी सदस्य हुन् ।
आज दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म उम्मेद्वार मनोनयन गर्ने कार्यतालिका रहेकामा उहाँले उनले ३ः०० बजे मनोनयन दर्ता गराएकी हुन् । समितिको भोलि बस्ने बैठकमा प्रस्तावकले एक मात्र प्रस्ताव परेको जानकारी दिएपछि उनलाई निर्विरोध भएको घोषणा गरिने छ । न्यौपाने पार्टीको केन्द्रीय सदस्य पनि हुन् । यसअघि उनी दुवै संविधानसभामा सदस्य थिइन् भने पार्टीका तर्फबाट संसदीय दलको सचेतकको भूमिका निर्वाह गरिसकेकी छन् । संसदीय सुनुवाई समितिको सभापतिको जिम्मेवारीमा रहेकी नेतृ न्यौपानेले आजै सभामुख समक्ष उक्त पदबाट राजिनामा दिएकी थिइन् ।

पार्टीको आजै बसेको कांग्रेस पदाधिकारी बैठकले उनलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सो पदका लागि बुधबार निर्वाचन हुँदैछ । कांग्रेसकै सांसद रामहरि खतिवडाले सभापतिबाट राजिनामा दिएपछि उक्त पद रिक्त थियो ।

उम्मेद्वारी दिएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेतृ न्यौपानेले संवेदनशील र महत्वपूर्ण विधेयकबारे निर्णय गर्न पर्ने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको प्राप्त जिम्मेवारी पुरा गर्न सबैलाई साथ र सहजीकरण गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएकी छन् ।



फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement