आजको प्रतिनिधि सभा बैठकमा सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा विपक्षी दलहरूका तर्फबाट माओवादीका सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्रीसँग जबाफ माग गरेका छन्।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित थिएनन्, ओली बालुवाटारमा सत्ता गठबन्धन बैठकमा व्यस्त थिए । बैठक सुरू हुनेबित्तिकै माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसद उठेर कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा विरोधको आवाज उठाएका थिए ।
राम्रो काम गर्ने कर्मचारी घिसिङलाई सरकारले दण्डित गरेको भन्दै प्रधानमन्त्रीसँगै त्यसको जबाफ माग गर्दै विपक्षी दलका तर्फबाट प्रतिनिधि सभामा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले प्रश्न गरेका छन्।
‘तमाम विकृति, विसंगती, भ्रष्टाचारको संरक्षण गरेको सन्दर्भ उठिराखेको छ। यस्तो बेलामा राम्रो काम गर्ने कर्मचारीलाई पनि दण्डित गर्ने काम भएको छ। यो सामान्य कर्मचारी हेरफेरको मात्रै विषय होइन। सुशासनको प्रश्न पनि हो,’ उनले भने।
विपक्षी दलहरूले उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घन्टाका लागि बैठक स्थगित गरेका छन्।



















फेसबुकबाट तपाईको प्रतिक्रिया