२०८२ आश्विन १६ | Oct 02, 2025

राष्ट्रपति पौडेलद्वारा एमएमए फाइटर रविन्द्र सम्मानित

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २२
|
204 views

ललितपुर । छिमेकी राष्ट्र भारतमा भएको म्याट्रिक्स फाइट नाइट टाइटल विजेता रविन्द्र ढाँटको सम्मानमा राष्ट्रपति भवन शीतल निवासमा भएको स्वागत कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई विश्वभर चिनाउने खेल क्षेत्रको विकास एवं खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

राष्ट्रपति पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

राष्ट्रपति पौडेलले भने, ‘देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीले कीर्तिमान र सफलता हासिल गर्न सक्दछन् ।’

राष्ट्रपति पौडेलले व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा खेलको महत्व रहेको बताउँदै थपे, ‘खेल क्षेत्रको विकासमा सरकार, खेलसँग सम्बन्धित संस्था र निकायले आगामी दिनमा अझै प्रभावकारी ढङ्गले काम गर्न क्रियाशील हुने विश्वास लिएको छु ।’

राष्ट्रपति पौडेलले बझाङको बाघ भनेर परिचित नेपाली एमएमए फाइटर रविन्द्रले आफ्नो खेल कौशल, सामर्थ्य, शक्ति र खेलप्रतिको अगाध समर्पणले यो उपाधि जित्न सफल हुनु नेपालीको लागि गौरवको विषय भएको बताए । राष्ट्रपति पौडेलले डाँटको सफलताका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

एमएमए फाइटर रविन्द्रले शनिवार भारतका चुङरेङ कोरेनलाई तेस्रो राउन्डमा नकआउट गरेका थिए । व्यावसायिक फाइटमा रविन्द्रको रेकर्ड ८-१ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया