राष्ट्रियसभा निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुँदै, माघ ११ मा मतदान

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २७
|
816 views

ललितपुर - ललितपुर। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरूले दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आज आइतबार सार्वजनिक हुँदैछ। निर्वाचन आयोगका अनुसार पुस २३ गते मनोनयन दर्ता गराएका उम्मेदवारमध्ये आज नाम फिर्ता लिने समय सकिएपछि दिउँसो अन्तिम नामावली प्रकाशन गरिनेछ।

आयोगले पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकेको थियो। उजुरीको छानबिनपछि आज नाम फिर्ता लिने अवसर प्रदान गरिएको हो। भोलि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ। ती पदका लागि विभिन्न क्लस्टरबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) गठबन्धनमा रहेर प्रतिस्पर्धामा उत्रिएका छन् भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एक्लै मैदानमा छ। नेकपाले १७ जना उम्मेदवार उठाएको छ।

गठबन्धनमा रहेका दलमध्ये कांग्रेसले ९, एमालेले ८ र जसपाले ३ जना उम्मेदवार अघि सारेका छन्। यस्तै राष्ट्रिय जनमोर्चाले ३, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ र नेपाल मजदुर किसान पार्टीले २ जनाको उम्मेदवारी दर्ता गराएका छन्।
राष्ट्रियसभा निर्वाचनका लागि आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने तय गरिएको छ।

 पात्रो/राशिफल  रेडियो YouTube