२०८२ आश्विन १६ | Oct 02, 2025

राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानुन र बेग्लै मापदण्ड आवश्यक भएकामा जोड

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २५
|
102 views

काठमाडौँ । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकका सहभागिहरुले राष्ट्रिय गौरवका आयोजनालाई निर्धारित समयमै सम्पन्न गराउन छुट्टै कानुन आवश्यक रहेकामा जोड दिएका छन् । ‘राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथिको छलफल’मा सांसदहरुले गौरवका आयोजना छनोटसम्बन्धी  बेग्लै मापदण्ड आवश्यक भएकामा जोड  दिएका हुन् ।

समितिका सभापति सोनाम गेल्जेन शेर्पाले गौरवका आयोजनाको औँचित्यता, कार्यान्वयनको प्रक्रिया र निर्माण सम्पन्न भएका आयोजनाको सञ्चालनका सम्बन्धमा विशेष नीतिगत व्यवस्था हुन आवश्यक रहेको बताए । समिति सदस्य जगतबहादुर पार्कीले गौरवका आयोजना घोषणा हुने तर समयमै सम्पन्न नहुने समस्या समाधान गर्न सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिए । त्यस्ता आयोजनाको निर्माण सम्पन्न हुने समयावधि तोकिसकेपछि पनि अलपत्र पर्नु विडम्बना भएको भन्दै उनले पर्याप्त अध्ययन गरेर मात्रै योजना घोषणा गर्न सुझाव दिए ।

सांसद किरणबाबु श्रेष्ठले ‘नाम मात्र’को गौरवका आयोजना तोकेर जनतालाई झुक्याउन नहुने उल्लेख गर्दै त्यस्ता आयोजना सम्पन्न गरेर देश र जनताले लाभ प्राप्त गर्ने अवस्था निर्माण गर्न सरकार अग्रसर हुनुपर्नेमा जोड दिए ।
सांसदहरु गोपीबहादुर सार्की अछामी, उदयबहादुर बोहरा, राजेन्द्रलक्षी गैरे, जगप्रसाद शर्मा, शेखरकुमार सिंहले गौरवका आयोजना कार्यान्वयनमा देखिएका समस्याको गाँठो फुकाउने तथा निर्माण सम्पन्न आयोजनाबाट लाभ प्राप्त गर्न आवश्यक नीतिगत निर्णय हुनुपर्ने बताए ।

समिति सभापतिसहितको टोलीले केही समयअघि राष्ट्रिय गौरवका आयोजनामध्ये गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, उत्तरदक्षिण (कोशी कोरिडोर) लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको स्थलगत अनुगमन गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया