२०८२ आश्विन १६ | Oct 02, 2025

राष्ट्र बैंकद्वारा एसआईपीएस फ्रेमवर्क जारी, विद्युतीय भुक्तानी प्रणाली थप व्यवस्थित हुने

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १७
|
765 views

ललितपुर । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीलाई थप व्यवस्थित र सुरक्षित बनाउन ‘फ्रेमवर्क फर आइडेन्टिफाइङ्ग सिस्टमेटिकली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम’ (एसआईपीएस) जारी गरेको छ। विद्युतीय भुक्तानी प्रणालीलाई नियमन गर्ने उद्देश्यले बैंकले उक्त फ्रेमवर्क सार्वजनिक गरेको हो।

आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिमा समेत भुक्तानी प्रणाली सञ्चालकहरूलाई प्रणालीगत रूपमा महत्त्वपूर्ण प्रणाली पहिचान गरिने उल्लेख गरिएको थियो। अहिले सोही नीतिलाई कार्यान्वयन गर्दै राष्ट्र बैंकले यस किसिमको व्यवस्था ल्याएको हो।

केन्द्रीय बैंकले हालैका वर्षहरूमा तीव्र गतिमा वृद्धि हुँदै गएको डिजिटल भुक्तानी प्रणालीलाई ध्यानमा राख्दै, यस फ्रेमवर्कमार्फत प्रणालीगत रूपमा महत्त्वपूर्ण भुक्तानी प्रणालीहरूको स्पष्ट मापदण्ड निर्धारण गर्ने भएको हो। यसले वित्तीय प्रणालीमा प्रणालीगत अवरोध आउन नदिई समग्र प्रणालीको स्थायित्व कायम राख्न समेत मद्दत बैंकले जनाएको छ ।

एसआईपीएस फ्रेमवर्कको मुख्य उद्देश्य यस्ता प्रणालीहरूको पहिचान र नामांकनका लागि स्पष्ट तथा समग्र मापदण्ड तय गर्नु रहेको छ। यसले भुक्तानी प्रणाली सञ्चालकहरूलाई नियामक निगरानी र जोखिम व्यवस्थापनको दायरामा ल्याई वित्तीय क्षेत्रमा प्रणालीगत अवरोध हुन नदिनु हो ।

राष्ट्र बैंकका अनुसार, प्रणालीगत रूपमा महत्त्वपूर्ण प्रणालीहरूले ठूलो मूल्यका तथा संवेदनशील भुक्तानीहरू समेट्ने भएकाले यस्ता प्रणालीहरू वित्तीय प्रणालीका आधारभूत र संवेदनशील अवयव हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया