रासायनिक मलको मूल्य निर्धारण

कास्की १८, साउन २०८१ ।

पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षका लागि रासायनिक मलको मूल्य निर्धारण गरेको छ । महानगरपालिका मल वितरण व्यवस्थापन समितिको आजको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य निर्धारण गरेको हो ।
मल वितरण व्यवस्थापन समितिका संयोजकसमेत रहेकी महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डिएपी र पोटासको मूल्य तोकेको महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा युरिया प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ पाँच पैसासम्म निर्धारण गरिएको छ । डिएपीको प्रतिकिलो ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ पाँच पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ पाँच पैसासम्म तोकिएको छ । मल बिक्रेताले प्लास्टिक झोलाको मूल्य प्रतिकिलो बढीमा रु दुई थप लिनसक्ने निर्णय गरेको छ ।
पोखरा महानगर कृषि शाखामा सूचीकृत तथा बिक्री वितरण गर्न छनोट भएका २६ वटा वडाका ६५ केन्द्रबाट मल बिक्री वितरण भइरहेको छ । मल बिक्री वितरणका लागि गत आव २०८०/८१ मा मल बिक्रेताले बिक्री गरेका आधारमा कोटा निर्धारण गरिएको प्रमुख कडरियाले बताए ।

सूचीकृत बिक्रेतालाई मलको कोटा निर्धारण गरिएको र महानगरले तोकेकै मूल्यमा सहज रूपमा किसानलाई उपलब्ध गराउनसमेत अनुरोध गरिएको छ । सहज र सुपथ मूल्यमा मल बिक्री गरे/नगरेको अनुगमन गरिने पोखरा महानगरका उपप्रमुख गुरुङले बताइन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले अनुदानको मल बढी मूल्यमा बिक्री गर्नेलाई कारबाही गरिने बताए ।

कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देलले युरिया, डिएपीको तुलनामा पोटासको खपत कम भएको जानकारी दिए । उनले रासायनिक मलको अनुपात विश्लेषण गर्दा पोटासको प्रयोग कम भएको बताए । उनका अनुसार यसबारेमा किसानलाई सचेतना अभिवृद्धिको खाँचो छ ।

पोखरा महानगरमा गत आवमा युरिया एक हजार दुई सय २१ मेट्रिक टन, डिएपी छ सय ४५ मेट्रिक टन र पोटास ९८ दशमलव ९५ मेट्रिक टन गरी कूल एक हजार नौ सय ६५ दशमलव दुई मेट्रिक टन खपत भएको महानगरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया