रास्वपाले दियो मानवअधिकार आयोगमा निवेदन

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २७
|
765 views

ललितपुर - काठमाडौं । पूर्व मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पार्टी सभापति रवि लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपाले बुधबार राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएको छ।

गत शुक्रबार पार्टी सभापति लामिछानेलाई पक्राउ गर्ने क्रममा प्रहरीले ज्यादती गरेकाले मावनअधिकार आयोगको ध्यानाकर्षण गराएको रास्वपाले जनाएको छ।

बागमती प्रदेश सभापति अच्युतम लामिछाने, रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी सहित रास्वपाका अन्य केही नेताहरू बुधबार राष्ट्रिय मानवअधिकार आयोग पुल्चोक पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

‘सभापति रवि लामिछानेज्यूमाथि भएको प्रहरी ज्यादती र मानव अधिकार हननको घटनाविरुद्ध पार्टीको तर्फबाट उहाँको मानव अधिकार रक्षार्थ राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिइएको हो,’ कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन्।

सहकारी ठगी प्रकरण र संगठित अपराध मुद्दामा जिल्ला अदालतको आदेश उल्ट्याउँदै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरे लगत्तै शुक्रबार राति नै काठमाडौंको बूढानीलकण्ठस्थित निवासबाटै लामिछानेलाई पक्राउ गरिएको थियो ।

रास्वपाले लामिछानेलाई पक्राउ गर्दा न्यायिक प्रक्रिया नपुर्‍याएको र पक्राउ गर्न गएका प्रहरी अधिकृतले अपमानजनक व्यवहार र अश्लील शब्द प्रयोग गरेको रास्वपा नेताहरुको आरोप छ ।

 पात्रो/राशिफल  रेडियो YouTube