राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’
म्याग्दी १५ साउन २०८१-।
नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।
प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको ६ हजार दुई सय ७० मिटर लामो सुरुङको मंगलबार ‘ब्रेक थ्रु’ भएको हो ।
रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा रहेको बाँधदेखि वडा नम्ब। ३ तिल्केनीचौरसम्म जोड्ने सुरुङ जोडिएको आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए ।
सो सुरुङ मार्ग खन्ने क्रममा चारवटा पहुँच मार्ग (अडिट) खण्डीकृत गरी ‘ब्रेक थ्रु’ गरिएको आयोजनाले जनाएको छ ।
रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र प्रबन्ध सञ्चालक केसीले बाँध र अघेरीखोलाको अडिट नम्बर २ जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरुङमा संयुक्त रुपमा ‘स्विच’ थिचेर विस्फोट गराई ब्रेक थ्रु गरेका हुन् ।
अडिट १ बाट आठ सय ७५ र अडिट २ बाट एक हजार चार सय ५८ मिटर सुरुङ निर्माण भएको हो ।
गत फागुनमै जोडिएको तीन हजार आठ सय ३६ मिटर लामो दोस्रो र तेस्रो नम्बर अडिटको सुरुङलाई लाइनिङ (प्लास्टर) गर्ने काम भइरहेको छ ।
गाउँपालिका अध्यक्ष भण्डारीले राहुघाटको मुख्य काम सुरुङ निर्माण भएकामा खुसी व्यक्त गर्दै आयोजना निर्माणमा सहजीकरण एवम् समन्वय गरेको बताए ।
रघुगङ्गा गाउँपालिका–३ पिप्लेस्थित मुख्य सुरुङको आउटलेट (अन्तिम विन्दु) देखि तिल्केनीचौरमा निर्माणाधीन विद्युतगृहमा पानी खसाल्ने पाइपलाइन राख्ने एक हजार ४९ मिटर लामो प्रेसर साफ्ट सुरुङ गत जेठ महिनामा जोडिएको थियो ।
मुख्य सुरुङबाट आउने पानीलाई विद्युतगृहमा लैजाने पाइपलाइन राख्नका लागि प्रेसर साफ्ट बनाइएको हो । पिप्लेमा ६१ मिटर गहिरो ‘सर्च साफ्ट’ निर्माण सकिएको छ ।
जलविद्युत् आयोजनामा सुरुङ निर्माण कार्यलाई प्राविधिकहरूले प्रमुख उपलब्धिका रुपमा लिने गर्दछन् ।
सुरुङ ब्रेक थ्रु भएकामा प्राधिकरण, प्रवर्द्धक, निर्माण कम्पनी, परामर्शदाता तथा जनप्रतिनिधिहरूले खुसियाली व्यक्त गरेको छन् ।
सुरुङको ‘ब्रेक थ्रु’ भएसँगै सिभिलतर्फ आयोजनाको ६० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख राजबहादु विष्टले जानकारी दिए ।
सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी) ले २०७६ असार ८ गते पिप्लेस्थित अडिट नम्बर ३ बाट सुरुङ निर्माण थालेको थियो ।
भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी) सँग २०७४ मंसिरमा ठेक्का सम्झौता भएको थियो ।
ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी–पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको थियो ।
२०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले भारतमा निर्माण गरेका उपकरणको परीक्षण गरी आयातको प्रक्रिया अघि बढाएको छ ।
सो आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ २५ प्रतिशत भौतिक प्रगति भएको बताइएको छ ।
कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो ठेकेदार आईभीआरसीएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्र्याक्ट (ईपीसी) बमोजिम राहुघाट जलविद्युत् आयोजना निर्माणअघि बढाइएको थियो ।
पहिलो कार्यतालिका र सम्झौताअनुसार आयोजना २०७० सालमा सम्पन्न हुनुपर्ने थियो । पहिले ३२ मेगावाटमा डिजाइन गरिएको सो जलविद्युत् आयोजनालाई आठ मेगावाट बढाएर ४० मेगावाट पुर्याइएको छ ।
उक्त गाउँपालिका–४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पीआरओआर) प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युतगृहको संरचना निर्माण भइरहेको छ ।
बेनी–जोमसोम–कोरला सडकको घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एउटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युतगृह र बाँधलाई सिधा सडकले जोडिएको छ ।
सिभिल ठेकेदार जेपीका आयोजना प्रमुख हरिश अग्रवालले अब एक वर्षभित्र राहुघाटको परीक्षण उत्पादन गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया