
ललितपुर । ललितपुरको जावलाखेलस्थित न्हु: पोखरीको डिलमा रहेका संरचना अवैध भएको भन्दै ललितपुर महानगरपालिकाले भत्काएको छ । आज (आइतबार) महानगरपालिकाले पोखरीको उत्तरतर्फ रहेका भवनहरुमाथि डोजर चलाएको छ ।
यसअघि ललितपुर महानगरले गत साउन १७ गते नै ३५ दिने सूचना जारी गर्दै सो क्षेत्रमा रहेका अनाधिकृत संरचना हटाउन आग्रह गरेको थियो । तर महानगरले दिएको अवधिमा संरचना हटाउन अटेर गरेपछि आज महानगर आफैंले उक्त संरचनामाथि डोजर चलाएको छ । संरचना भत्काउन उल्लेख्य संख्यामा नगर प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।
ललितपुरको जावालाखेलस्थित न्हु: पोखरीको उत्तरपूर्व भाग मिचेर बनाइएको भवन वुद्धि विकास मण्डल र नेपाल क्षयरोग निवारण संघले प्रयोग गर्दै आएका थिए ।
महानगरपालिकको वडा नम्बर ५ जावलाखेलमा रहेको ऐतिहासिक न्हु: पोखरी महानगरपालिकाले पुनस्निर्माण गर्न लागेको हो । सो कार्यका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नगर कार्यपालिकाबाट स्वीकृत गरी बजेट समेत विनियोजन गरिसकेको महानगरले जनाएको छ ।
भवनमाथि डोजर चलेपछि वुद्धि विकास मण्डलका अध्यक्ष पवन रानामगरले महानगरपालिकासँग आफूहरुले पटक–पटक छलफल गर्दा पनि निकास नदिएको आरोप लगाएका छन् । यस सम्बन्धमा उच्च अदालतले अन्तरिम कारण देखाउ आदेश जारी गरेको थियो तर महानगरपालिकाले त्यसको पालना नगरी संरचनामाथि डोजर चलाएको आरोप लगाएका छन् ।
महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७, तथा मुलुकी देवानी संहिता २०७४ को दफा ३०४ बमोजिम सार्वजानिक सम्पती संरक्षण गर्ने दायित्व सम्बन्धित स्थानीय तहको भएको उल्लेख गर्दै गत साउन १६ गतेको निर्णय बमोजिम न्हु पोखरी उत्तर पूर्वपोखरीको डिलमा रहेका अनाधिकृत संरचना हटाउन ३५ दिने म्याद दिएको थियो ।
३५ दिने म्याद सकिदा पनि सम्बन्धित व्यक्तिले उक्त संरचना नहटाएपछि बाध्य भएर महानगरपालिको डोजर चलाएर संरचना हटाएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया