२०८२ भाद्र ६ | Aug 22, 2025

ललितपुर महानगरपालिकाको आगामी वर्षको बजेट ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँ

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २८

ललितपुर । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रगति र आगामी वर्षको योजना तर्जुमा प्रक्रियाबारे जानकारी गराएको छ ।


महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । पुँजीगत खर्चतर्फ ६०.३२% अर्थात ४ अर्ब ५० करोड ७७ लाख २९ हजार रुपैयाँ छुट्याइएको छ । यस्तै प्रशासनिक खर्चका लागि १७.७९% अर्थात १ अर्ब ३३ करोड ३ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएको छ भने सामाजिक सुरक्षा र ससर्त अनुदानमा २१.८९% अर्थात १ अर्ब ६३ करोड ६१ लाख रुपैयाँ खर्च गरिनेछ ।

शनिबार पत्रकार सम्मेलन मार्फत आफ्नो सातौँ नगरसभाबाट पारित आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा जानकारी गराउदै चालु आर्थिक वर्ष २०८१÷८२ को असार २५ सम्मको कुल खर्च ६८.१४% पुगेको जानकारी दिएको हो । जसमा पुँजीगत खर्च ६०.६२% र चालु खर्च ८५.३२% रहेको छ । राजस्व सङ्कलन भने लक्ष्यको ७५% हासिल भएको र लेखा परीक्षणमा बेरुजु ०.५२% मात्र देखिएको महानगरले जनाएको छ ।


महानगरले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९३.५% ,वित्तीय जोखिम मूल्याङ्कनमा ९९.५% अङ्क हासिल गरेको छ भने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको मूल्याङ्कनमा ७४.७१% अङ्क पाएको जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया