२०८२ भाद्र ६ | Aug 22, 2025

ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धिको आँखा तथा कान उपचार केन्द्रको औपचारिक उद्घाटन शनिवार हुने 

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २७

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धिमा सञ्चालनमा आउन लागेको आँखा तथा कान उपचार केन्द्रको आउँदो शनिवार उद्घाटन हुने भएको छ । ललितपुर महानगरपालिका, वडा नं. २९ र नेपाल नेत्र ज्योति संघ, सगरमाथा चौधरी आँखा अस्पताल, लहानबीच गत बर्ष भएको सम्झौता अनुसार ललितपुर महानगरपालिका, २९ नं. वडामा उक्त आँखा तथा कान उपचार केन्द्र सञ्चालन हुन लागेको हो ।
उक्त आँखा तथा कान उपचार केन्द्रको नाम जलः आँखा तथा कान उपचार केन्द्र रहने छ । जलः आँखा तथा कान उपचार केन्द्रको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख  चिरीवावु महर्जनले गर्ने  २९ नं. वडाका वडाध्यक्ष गणेश कुमार महर्जनले बिजनेस पाटीलाई जानकारी दिए ।
उदघाटन पछि आँखा तथा कान उपचार केन्द्रबाट नियमित सेवाहरूको सुरूवात हुनेछन् । यसले हरिसिद्धि क्षेत्र, यसका आसपासका क्षेत्रका साथै पुरै ललितपुर महानगरपालिकाका बासिन्दाहरूलाई आँखा तथा कान उपचारको लागि निकै सहज हुने समेत वडा अध्यक्ष गणेश कुमार महर्जनले  जानकारी दिए ।।
आँखा तथा कान उपचार केन्द्र सञ्चालन गर्न गतवर्ष वडा र सगरमाथा चौधरी आँखा अस्पताल, लहानबीच लहान, सिराहामा सम्झौता भएको थियो । उक्त सम्झौता पत्रमा आँखा अस्पताल, लहानका अध्यक्ष रविन्द्र लाल चौधरी र ललितपुर महानगरपालिका, वडा नं. २९ हरिसिद्धिका वडा अध्यक्ष महर्जनले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार उपचार केन्द्र सञ्चालनको लागि आवश्यक जनशक्ति तथा उपकरण सगरमाथा चौधरी आँखा अस्पतालले उपलब्ध गराउने छ भने उक्त केन्द्र सञ्चालनको लागि आवश्यक कोठाहरूको व्यवस्था वडा कार्यालयले गर्नेछ।
उपचार केन्द्रले आँखा तथा कानका विभिन्न रोगहरूको जाँच, परामर्श उपचार साथै औषधि तथा चश्मा सुपथ मूल्यमा उपलब्ध गराउने छ । त्यसैगरी मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको पर्दाको जाँच, आँखाको प्रेसर तथा नली जाँच, मोतीबिन्दु तथा जल बिन्दु भएका बिरामीलाई जाँच गरी परामर्श दिने र आवश्यकता अनुसार समय-समयमा आँखाको शिविर सञ्चालन तथा शल्य चिकित्सा सेवा समेत प्रदान गर्नेछ ।
सगरमाथा चौधरी आँखा अस्पताल, लहानको आफ्नो सेवा देशैभरी बिस्तार गर्ने उद्देश्य अनुरूप ललितपुर महानगरपालिका, वडा नं. २९ हरिसिद्धिमा आँखा तथा कान उपचार केन्द्र स्थापन हुन लागेको हो । ललितपुर महानगरपालिका २९ नं. वडाको आयोजनामा सगरमाथा चौधरी आँखा अस्पतालले दुई पटक हरिसिद्धिमा बृहद् निःशुल्क शल्यक्रिया सहितको आँखा शिविर सफलतापूर्वक सञ्चालन गरेको थियो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया